हेटौंडा, नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजनामा सामुदायिक माध्यमिक विद्यालयहरूबीच माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भुगेन्द्र लुईटेलको सभाध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका वडा नं। १६ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका प्रमुख रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा हेटौंडा नगरका २१ वटा विद्यालयका समुहहरूले भाग लिएका थिए । कडा प्रतिस्पर्धाका बीच हेटौंडा–१८ स्थित ज्योति माविका सलिना सुवेदी, शान्ती गोले र समिप घिमिरेको समुह प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी, हेटौंडा–१७ को बालबोध माविका श्रृष्टि भुजेल, स्मृति तिमल्सिना र सकृना पुडासैनीको समुह द्वितीय तथा हेटौंडा–१६ को जनप्रिय माविका रामकृष्ण आचार्य, एरिना चौलागाई र कौस्तुभ सुवेदीको समुह तृतीय भएका थिए ।
विजेता टोलीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको संस्थाकी उपाध्यक्ष प्रतिमा गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो क्रममा प्रमुख अतिथि रामकृष्ण कोईरालाले आफ्नो सम्बोधनमा यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै शैक्षिक समन्वय समितिको प्रयासको प्रशंसा गरे। उनले वडा तथा नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले प्रतियोगिताको उद्देश्य बारे प्रकाश पारेका थिए ।
कार्यक्रमको संचालन संस्थाका सचिव जनकप्रसाद घिमिरेले गरेका थिए।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख सीताराम कोईराला, शिक्षा अधिकृत हरिचन्द्र लामा, जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन वास्तकोटी, प्रधानाध्यापक भुपेन्द्र चौलागाई र हजुरको खबर डटकमका प्रमुख रुपक कालिराज लगायत आतिथ्यता रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष भुगेन्द्र लुईटेलको अध्यक्षतामा भएको हो ।