चेपाङ बाहुल्य वडा समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन माग

हेटौँडा, चेपाङ बाहुल्य क्षेत्रका वडाहरू समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापन पत्र बुझाइएको छ । चेपाङ समुदायको पहिचान संरक्षण हुने गरी धादिङ र चितवनका क्षेत्रहरूलाई समेटेर दुई स्थानीय तह पुनर्संरचना गर्नुपर्ने मागसहित नेपाल चेपाङ सङ्घ केन्द्रीय कार्यकारिणी समितिले बुधबार मुख्यमन्त्री बानियाँलाई ज्ञापन पत्र बुझाएको हो ।

ADVERTISEMENT

हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सङ्घका प्रतिनिधिहरूले चेपाङ बसोबास रहेका क्षेत्रलाई समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन माग गरेका हुन् । उनीहरुले चेपाङ भाषाको संरक्षणमा समेत सहयोग पुग्ने भएकाले झारालाङ र रोराङ गाउँपालिका नामकरण समेत गरेर सोही अनुसार पुनर्संरचना गर्न माग गरेका हुन् ।

सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङसहितको टोलीले मुख्यमन्त्री बानियाँलाई ज्ञापन पत्रमार्फत चेपाङ बाहुल्य रहेको चितवन, धादिङ र मकवानपुर जिल्लाका वडाहरू समेटेर छुट्टै स्थानीय तह गठन गर्न प्रस्ताव गरेका हुन्। प्रस्तावअनुसार चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर–१ र २, कालिका नगरपालिकाका वडा नम्बर–१० र ११ तथा राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ लाई समेटेर झोरालाङ गाउँपालिका बनाउन माग गरिएको छ।
त्यस्तै, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई समेटेर रोराङ गाउँपालिका बनाउन सङ्घले आग्रह गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य गाउँपालिका वा नगरपालिकामा गाभिने अवस्था आएमा हालको चेपाङ भाषामा रहेको नाम यथावत् राख्नुपर्ने माग पनि गरिएको छ। यसका साथै नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा ९५० बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रमा चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग राखिएको छ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको बताए । स्थानीय तहसँग समन्वय गरेर समुदायको हितमा प्रदेश सरकारले आवश्यक काम गर्ने उनले बताए।
२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसङ्ख्या ८४ हजार ३ सय ६४ रहेको छ । यसमध्ये करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन् । मकवानपुर जिल्लामा १९ हजार २३३ जना चेपाङको बसोबास रहेको तथ्याङ्क छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *