हेटौंडा, मकवानपुरको बकैया गाउँपालिकामा विजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका ७ मानदमारका करिब ४० वर्षका रामकुमार तितुङ रहेका छन् ।
आफ्नै घर अगाडी हिँडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लाग्दा उनी घाइते भएका थिए । विद्युत प्रवाह नभएको पोलले लागेर घाइते भएका तितुङलाई उपचारका लागि चुरेहिल अस्पताल ल्याइएको थियो । चुरेहिलले थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तितुङको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।







