हेटौँडा–११ मा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

हेटौँडा, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–११, मकवानपुरको आयोजना तथा वडा नम्बर ११ कार्यालयको आर्थिक सहयोगमा समुदाय लक्षित एकदिवसीय आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम आइतबार हेटौँडामा भएको छ। केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ११ नम्वर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा मामाघर नेपालका संस्थापक डा. अर्पण पराजुली र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजेशकुमार बर्तौलाले आत्महत्याका प्रमुख कारण, न्यूनीकरणका उपाय, हालको अवस्था, सामाजिक भूमिका, आहार–व्यवहारमा आवश्यक परिवर्तन तथा सकारात्मक सोचको विकासलगायत विषयमा सहजीकरण गरेका थिए। कार्यक्रमा प्रमुख अतिथि रहनु भएको वडा अध्यक्ष दाहालले आत्महत्या सामाजिक समस्याको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना र सक्रियता आवश्यक रहेको बताउनु भयो ।

उहाँले यस्ता कार्यक्रमले समस्या समाधानमा ठोस उपलब्धि हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रका अध्यक्ष श्रेष्ठले समाजमा सकारात्मक सोचको विकास र सुरक्षित समुदाय निर्माणका लागि यस्ता गतिविधिहरू विगतदेखि सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा केन्द्रका उपाध्यक्ष कृष्णप्रसाद खनाल, सहसचिव दिवस पराजुली, निवर्तमान अध्यक्ष शालिकराम पुडासैनी तथा सदस्य यज्ञबहादुर आचार्यलगायतको आतिथ्यता रहेको थियो। नेपाल प्रहरी र नागरिक समाजको संयुक्त सहकार्यमा २०६३ सालमा स्थापना भएको सामुदायिक सेवा केन्द्रले भयमुक्त, सुरक्षित र समृद्ध समाज निर्माणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *