हेटौँडा, मकवानपुर जिल्ला बक्सिङ संघको आयोजनामा ‘अल नेपाल ओपन यू–२२ बक्सिङ प्रतियोगिता’ हेटौँडामा हुने भएको छ । प्रतियोगिता हेटौँडास्थित कभर्ड हलमा आगामी जेठ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
हेटौँडा स्कूल अफ म्यानेजमेन्ट तथा अन्य सहयोगी संस्थाहरूको सहकार्यमा आयोजना हुने प्रतियोगितामा यू–१९ र यू–२२ उमेर समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । संघका अध्यक्ष सुशिल घिमिरेका अनुसार प्रतियोगितामा देशभरका २८ वटा क्लबबाट करिब २०० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्को करिब २४ लाख ५० हजार रुपैयाँ सहयोगमा सञ्चालन हुने प्रतियोगिताको कुल अनुमानित खर्च करिब ३० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा यू–१९ तर्फ ७ र यू–२२ तर्फ ७ गरी कुल १४ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ भने दुवै उमेर समूहमा एक–एक तौल समूह समावेश गरिएको छ । प्रतियोगिताका प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीले १० हजार रुपैयाँ, द्वितीय हुनेले ५ हजार रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने खेलाडीले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट क्लबलाई समेत जनही १०–१० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
मकवानपुरका प्रशिक्षक लालबहादुर पौडेलका अनुसार प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको बीमा गरिएको छ । साथै, प्रतियोगिताको प्रत्येक दिन उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ‘बक्सर अफ द डे’ सम्मान प्रदान गरिनेछ । “खेलाडी उत्पादन र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । यसले देशभरका जुनियर खेलाडीहरूको अवस्था मूल्यांकन गर्न सहयोग पुर्याउनेछ,” प्रशिक्षक पौडेलले बताए ।
संघका उपाध्यक्ष उज्ज्वल भण्डारीका अनुसार प्रतियोगितामा मकवानपुरबाट दुई टोली सहभागी हुनेछन् । प्रतियोगिताका लागि अपुग बजेट स्थानीय दाताहरूको सहयोगबाट जुटाइने उनले जानकारी दिए । मकवानपुर जिल्ला बक्सिङ संघले यसअघि पनि ‘अल नेपाल नोभिस बक्सिङ प्रतियोगिता’ सफलतापूर्वक आयोजना गरिसकेको छ ।









