प्रिति आलेले नचाइन हेटौंडेली दर्शकलाई, भोली कर्मा व्याण्ड आउने

हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा चर्चित गायिका प्रिति आलेले हेटौंडेलीलाई नचाएकी छिन् । उनले आफ्नो सांगीतिक प्रस्तुती दिदैं युवायुवतीलाई छारो उड्ने गरी नचाएकी थिइन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । उनले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका वरपिपल छायाँ…, बाबरी बाबरी…, न सम्पति न मेरो जीउडाल के को माया जाल… लगायत लोकभाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकी थिइन् । त्यस्तै गायक हेमन्त शर्मा र कृष्ण काफ्लेले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए ।

ADVERTISEMENT

महोत्सवमा मोडल करिश्मा ढकालले नृत्य प्रस्तुत गरेकी थिइन् भने कमेडियन शिवहरि नेपाल र अस्मिताले प्रहशन मार्फत दर्शकहरुलाई हसाएका थिए । महोत्सवको नवौं दिन विहीबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा मज्जाले झुम्दै स्टलहरुको अवलोकन गरेका थिए । भोली शुक्रबार चर्चित व्याण्ड कर्मा व्याण्डको प्रस्तुी रहनुका साथै गायक मानसराज र ऋतु कंडेलको प्रस्तुती रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।

महोत्सवमा विहीबार २० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । आजै करिब ७ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । विहीबार आइडलका प्रतिस्पर्धी दीपा स्याङ्तान बाहिरेकी छिन् ।

ADVERTISEMENT

महोत्सवलाई हेटौंडाको उत्पादन शिवम सिमेन्टले प्रायोजन गरेको छ भने सह—प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रुप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले बताउनुभयो । मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् भने महोत्सवको सह—आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको अध्यक्ष गुप्ताले बताए ।

महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक विमा कम्पनीको रुपमा एनएलजी विमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । विहीबार हेटौंडा मेडिसिन सेन्टरका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिएको छ । भोली शुक्रबार हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाबाट आउनुहुने विशेषज्ञ बाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।

विहीबार महोत्सवमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, सहायक प्रजिअ नेत्र शर्मा, बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, मकवानपुर प्रहरी प्रमुख बामदेव गौतम, सशस्त्रका प्रहरी निरीक्षक अनील कार्की, अनुसन्धानका उप निर्देशक पप्पुशर्मा पौडेल, पशुपन्छी निर्देशनालयका निर्देशक डा. बज्रकिशोर ठाकुर, प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीका बल्लभ सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *