हेटौँडा, हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। विद्यालयले एक विशेष कार्यक्रम आयोजना गरी उच्च अंकसहित एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको हो।
विद्यालयका अनुसार एसईई २०८२ मा ४।०० जिपिए हासिल गर्ने विद्यार्थी वृष्टि जयस्वाल, परजन्य कुशवाहा र पूर्णता गोर्खालीसहित उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको हो।
कार्यक्रममा बोल्दै ४ जिपिए प्राप्त विद्यार्थी पूर्णता गोर्खालीले नियमित अध्ययन, लक्ष्यप्रति समर्पण, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको सहयोग नै आफ्नो सफलताको मुख्य आधार रहेको बताइन्। त्यसैगरी, एसईईमा नेपाली विषयमा ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने २४ जना विद्यार्थीलाई जनही एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कार नेपाली विषयका शिक्षक रामबाबु थापाले व्यक्तिगत तर्फबाट उपलब्ध गराएका हुन्।
विद्यालयले कक्षा १० मा विषयगत अध्यापन गराउने शिक्षकहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरूको सहभागिता रहेको थियो ।









