हेटौँडा खानेपानी बोर्डको ९७ दशमलव ७० प्रतिशत महशुल संकलन

हेटौँडा, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म पानी महशुलतर्फ ९७ दशमलव ७० प्रतिशत रकम संकलन गर्न सफल भएको जनाएको छ ।

ADVERTISEMENT

बोर्डले शुक्रबार २३ औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको आर्थिक तथा प्रगति प्रतिवेदनमा उक्त तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार बोर्डले पानी महशुलतर्फ १२ करोड १५ लाख रुपैयाँ बिलिङ गरेकोमा ११ करोड ८७ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । बोर्डप्रति उपभोक्ताको बढ्दो विश्वासका कारण ७१ लाख ६८ हजार रुपैयाँ अग्रिम महशुलसमेत जम्मा भएको जानकारी दिइएको छ ।

समग्र आर्थिक अवस्थातर्फ २४ करोड ५ लाख ९७ हजार ५ सय रुपैयाँ विनियोजित बजेटमध्ये हालसम्म १४ करोड ६६ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ आम्दानी भएको छ भने ११ करोड ७९ लाख ८५ हजार ६ सय १ रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्रताप विष्टले संस्थागत सुशासन, आर्थिक पारदर्शिता र सेवा प्रवाहलाई सुदृढ बनाउँदै आर्थिक अनुशासन कायम गर्न बोर्ड सफल भएको बताउनुभयो । उहाँले उपभोक्ताको विश्वास र नियमित महशुल भुक्तानीले बोर्डलाई थप प्रभावकारी रूपमा सेवा विस्तार गर्न प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार बोर्डले हाल हेटौँडा उपमहानगरपालिकाका १९ मध्ये १७ वटा वडामा खानेपानी सेवा विस्तार गरेको छ । करिब १ लाख ७० हजार नगरवासीलाई २९ हजार ७०९ धारामार्फत दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी वितरण भइरहेको जानकारी दिइएको छ । मुख्य बजार क्षेत्रमा २४सै घण्टा तथा अन्य क्षेत्रमा दैनिक ८ देखि ९ घण्टासम्म खानेपानी सेवा उपलब्ध गराइँदै आएको बोर्डले जनाएको छ । हाल बोर्डसँग सतहगत एक मुहान, ४० वटा डिप ट्युबेल र १९ वटा समवेल सञ्चालनमा रहेका छन् भने पानी भण्डारण क्षमता ८ हजार ९ सय ५२ घनमिटर पुगेको छ । करिब ८ सय किलोमिटर पाइपलाइन सञ्जाल विस्तार भइसकेको बोर्डले जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा बोर्डले विगत वर्षमा सम्पन्न गरेका विभिन्न पूर्वाधार योजनाबारे पनि जानकारी गराएको थियो । हेटौँडा–१५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको पानी ट्यांकी निर्माण, वडा नं। १६ मा सार्वजनिक शौचालय निर्माण, शाखा कार्यालय स्तरोन्नति, आधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालन तथा विभिन्न क्षेत्रमा पाइपलाइन विस्तार गरिएको जनाइएको छ ।
त्यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयसँगको सहलगानीमा हेटौँडा–१६ शक्तिमा ६ वटा पानी संकलन ट्यांकी, समवेल तथा ३।५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । बागमती प्रदेश सरकारसँगको सहकार्यमा हेटौँडा–११ थानाभर्‍याङ–सिमलटार क्षेत्रमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, दुई वटा समवेल तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले बोर्ड स्थानीय तहमा समुदायमुखी खानेपानी व्यवस्थापनको सफल नमुना बनेको बताउँदै आगामी दिनमा पनि सेवा विस्तार र पूर्वाधार विकासमा नगरपालिकाको पूर्ण सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अवसरमा अनुशासन, कार्यसम्पादन, लगनशीलता तथा सेवा योगदानका आधारमा उत्कृष्ट कर्मचारीहरूलाई प्रशंसापत्र तथा नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरूमा नमुना पण्डित, अजय थिङ, दिपेन्द्र महत, पुष्पा पौडेल पाण्डे, समि श्रेष्ठ, गोविन्दबहादुर थपलिया, डिलबहादुर योञ्जन र तिलकबहादुर श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *