हेटौंडा, मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा दोस्रो जिल्ला स्तरीय खुल्ला तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हेटौंडामा सुरु भएको छ। जिल्ला व्याडमिन्टन संघका अध्यक्ष विष्णु घिमिरे ‘ध्रुव’ को सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा हेटौँंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले उद्घाटन गरेका थिए ।
हेटौंडा ११ स्थित बहुउद्देश्यीय ब्याडमिन्टन कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिता चैत १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने भेट्रान्सतर्फको उपाधि विजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । खुलातर्फको उपविजेता टिमले २० हजार रुपैयाँ र भेट्रान्सको उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
तेस्रो हुने टिमले २ हजार ५ सय रुपैयाँ तथा भेट्रान्सले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खुला र भेट्रान्सतर्फको सर्वोकृष्ट खेलाडीले १ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा खुलातर्फ ४१ टिम र भेट्रान्सतर्फ १९ टिमको सहभागिता रहेको छ ।
कार्यक्रममा हेटौंडा–११ की वडाध्यक्ष जुना दहाल, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरे, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, डाङ्गडुगे सामुदायिक बनका अध्यक्ष सालिकराम पुडासैनी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रकी सहायक हवल्दार निमा भण्डारी लगायतको उपस्थिति रहेको थियो।







