हेटौँडा, बागमती गाउँपालिका–८, फापरबारी स्थित जनता माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले विद्यार्थीहरूको प्रयोगात्मक ज्ञान, सीप र सिर्जनशीलता उजागर गरेको छ।
प्रदर्शनीको अवलोकन गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर राना “क्षितिज” लगायतले गरेका थिए। अवलोकनका क्रममा उनीहरूले विद्यार्थीहरूले तयार पारेका विभिन्न वैज्ञानिक सामग्री तथा परियोजनाहरूको अवलोकन गर्दै प्रशंसा व्यक्त गरेका थिए।
कार्यक्रममा विज्ञान तथा प्रविधिसँग सम्बन्धित विविध सामग्रीहरूको प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूले आफ्ना परियोजनामार्फत विभिन्न वैज्ञानिक सिद्धान्त र तिनको व्यवहारिक प्रयोगबारे जानकारी दिएका थिए। प्रदर्शनीमा बागमती गाउँपालिका तथा बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो।
विद्यालयका विज्ञान शिक्षक दिवश सुवेदी र निराश गौतमको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक सिकाइप्रति रुचि बढाउनुका साथै नवप्रवर्तन क्षमताको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ। पछिल्लो समय जनता माध्यमिक विद्यालयले व्यवस्थापन सुधार, विद्यार्थी अनुशासन र शैक्षिक गुणस्तर अभिवृद्धिमा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ।
यसै वर्ष विद्यालयकी छात्रा युमी सिन्तानले ३.८८ जिपिए सहित ए प्लस प्राप्त गरी विद्यालयको प्रतिष्ठा थप उचो बनाएकी छन्। विद्यालयको यस उपलब्धिको श्रेय विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकबीचको प्रभावकारी समन्वयलाई जाने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रानाले बताएका छन्।
यसै शैक्षिक वर्षदेखि विद्यालयसँगै बागमती फुटबल एकेडेमी सञ्चालनमा आएको छ, जसले विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुद क्षेत्रमा पनि प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। बागमती गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा खेलकुद क्षेत्रलाई समान प्राथमिकताका साथ अघि बढाउँदै आएको देखिएको छ।







