हेटौंडा, हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले सर्वोकृष्ट नतिजा निरन्तर हासिल गर्न सफल भएको भन्दै बुधबार हेटौंडामा बाजा गाजा सहित र्याली निकालेको छ ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको बीबीए पाँचौं सेमेस्टरको नतिजामा मकवानपुर बहुमुखी क्याम्पस नेपाल टप हुन सफल भएको खुशीयालीमा बुधबार ¥याली निकालिएको हो । बीबीए पाँचौ सेमेस्टरमा ५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए । क्याम्पसकी छात्रा इरा लामा, इशा श्रेष्ठ, क्रिष्टिना दाहाल, सैय्यद अतिफा हसन र सैय्यद अफिफा हसनले ४ जीपीए ल्याएका हुन् ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा क्याम्पसका पूर्व अध्यक्ष डोरमणि पौडेल, अध्यक्ष अनन्त पौडेलले विद्यार्थीलाई बधाई ज्ञापन गरेका थिए । बीबीए पाँचौ सेमेस्टरमा क्याम्पसबाट ३३ जना विद्यार्थीले सहभागिता जनाएको बीबीए कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए ।
‘मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागिता जनाएका विद्यार्थीहरुको नतिजा राम्रो आइरहेको छ ।’ उनले भने –‘विद्यार्थीले राम्रो नतिजा ल्याउनमा विद्यार्थी, प्राध्यापक र अभिभावकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।’
मकवानपुर बहुमुखी क्याम्पसका अध्ययनरत विद्यार्थी, प्राध्यापकलगायतको सहभागितामा नगर परिक्रमा गरी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो । यसैगरी बीबीए सातौ सेमेष्टरमा पनि मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा श्रृष्टि महर्जनले जीपिए ४ ल्याउँदै नेपाल टप भएकी थिइन् ।






