हेटौँडा, बागमती सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमको सार्वजनिक भएको छ। सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, डिजिटल सेवा विस्तार र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘सुखी नागरिक, समृद्ध बागमती’को लक्ष्यसहित सेवा प्रवाहलाई छरितो, डिजिटल र नागरिकमैत्री बनाइने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा हेलो सीएम डेस्क स्थापना, अनलाइन प्रोजेक्ट मोनिटरिङ सिस्टम सञ्चालन, डिजिटल ट्रान्सफर्मेसन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा मन्त्रालय पुनर्संरचनालाई प्राथमिकता दिइएको छ ।
आर्थिक क्षेत्रतर्फ उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा जोड दिँदै स्टार्टअप इकोसिस्टम निर्माण, युवालाई सहुलियतपूर्ण कर्जा, स्थानीय उत्पादनको ब्राण्डिङ तथा औद्योगिक ग्राम विकास गर्ने नीति लिइएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर र निर्यातमुखी बनाउने लक्ष्यसहित ुएक वडा–एक कृषि उत्पादनु कार्यक्रम सञ्चालन, कृषि थोक बजार स्थापना, प्रांगारिक मल कारखाना निर्माण तथा व्यावसायिक गाँजा खेती व्यवस्थापनका लागि कानुनी प्रबन्ध गरिने जनाइएको छ ।
पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, पुल निर्माण, विद्युतीय सवारीसाधन प्रवर्द्धन, अटोमेटिक ड्राइभिङ टेस्ट ट्र्याक निर्माण तथा सबै जिल्लाबाट यातायात सेवा विस्तार गरिने नीति अघि सारिएको छ । हेटौंडालाई साइकल लेनसहितको पैदलमैत्री सहरका रूपमा विकास गरिने उल्लेख छ । पर्यटन प्रवर्द्धनका लागि ‘घुमौं बागमती, बुझौं संस्कृति’ अभियान सञ्चालन गरिने तथा प्रत्येक निर्वाचन क्षेत्रमा एक प्रमुख पर्यटकीय गन्तव्य विकास गरिने नीति लिइएको छ । हेटौंडामा आरोग्य केन्द्र स्थापना गर्ने योजना पनि समेटिएको छ ।
शिक्षा र स्वास्थ्यतर्फ प्राविधिक शिक्षा विस्तार, डिजिटल स्वास्थ्य सेवा, टेलिमेडिसिन, क्यान्सर तथा डायलासिस सेवाको पहुँच वृद्धि, निःशुल्क हवाई उद्धार कार्यक्रमलाई निरन्तरता तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । वन, वातावरण तथा जलवायु परिवर्तन व्यवस्थापनका लागि हरित अर्थतन्त्र, सामुदायिक वन सुदृढीकरण, रेड–प्लस कार्यक्रम, बायोइन्जिनियरिङ प्रविधि तथा हरित वित्त नीति लागू गरिने प्रदेश सरकारले जनाएको छ ।







