हेटौंडा, हेटौंडा उपमहानगरपालिका भित्र रहेका १ सय ६७ वटा सहकारी संस्थाहरुले साधारणसभा सम्पन्न गरी सहकारी महाशाखामा प्रतिवेदन बुझाएका छन् । उपमहानगरपालिकामा रहेका २ सय २४ वटा सहकारी संस्था मध्ये माघ २० गतेसम्ममा १ सय ६७ वटा सहकारी संस्थाले मात्र साधारणसभा सम्पन्न गरी प्रतिवेदन बुझाएको हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
‘सहकारी संस्थाले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरीसक्नु पर्ने र साधारणसभा सम्पन्न गरेको प्रतिवेदन माघ १५ गतेसम्म पेश गर्नुपर्ने प्रावधान रहेको छ ।’– उनले भने । हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढी सहकारी संस्था वडा नम्वर ४ मा रहेको छ । साधारणसभा सम्पन्न भएपनि प्रतिवेदन नआएको उनले बताए । ‘रिपोर्ट नबुझाउने सहकारीलाई पहिलो चरणमा फोन मार्फत सम्पर्क गरिरहेको छु ।’ उनले भने –‘शुक्रबार १५ वटा सहकारी संस्थासँग सम्पर्क गरी आइतबार ५ वटा सहकारी संस्थाले प्रतिवेदन पेश गर्ने भनेका छन् ।’
पहिलो चरणको काम सकिएलगतै दोस्रो चरणमा रिपोर्ट नबुझाउने सहकारी संस्थाको अनुगमन गरिने उनले बताए ।
उनका अनुसार हेटौंडा उपमहानगरपालिका १ नम्वर वडामा १ वटा, २ नम्वर वडामा पनि १ वटा लगायत अन्य वडामा पनि यही दरमा सहकारीले साधारणसभा गर्न बाँकी रहेको देखिन्छ । साधारणसभा सम्पन्न नगर्ने र प्रतिवेदन नबुझाउने सहकारी संस्थाले ‘कोपोमिस’मा भाग लिन पाउने छैन । माघ १५ गतेसम्म पनि साधारणसभा सम्पन्न नगर्ने सहकारी संस्थाहरुले कुनै पनि काम गर्न पाउने छैन र त्यस्ता सहकारी संस्थाहरु ‘इलिगल’ हुनेछन् । अहिले पनि उपमहानगरपालिका भित्र ५–७ वटा सहकारी संस्थाहरु झोलामा रहेको उनले बताए ।







