हेटौँडा, संघीय सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्व ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । संघ सरकारले आगामी आर्थिक वर्षमा बजेटमार्फत बागमती प्रदेशका १३ जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाउने लक्ष्यका साथ अघि बढेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत बजेटमा काठमाडौं उपत्यकालाई आधुनिक सहरका रूपमा विकास गर्न ‘भिजन २०४०’ को योजना अघि सारिएको छ भने हेटौँडालाई औद्योगिक र प्रविधिको हब बनाउने गरी विभिन्न आयोजना समेटिएका छन् । बजेटमा काठमाडौं उपत्यकाको विकासका लागि एकीकृत पूर्वाधार योजना अघि सारिएको अर्थमन्त्री वाग्लेले बजेट भाषणमार्फत जानकारी दिए । उनका अनुसार बजेटमा ‘भिजन २०४०’ अन्तर्गत काठमाडौँका सडकहरूमा अण्डरपास, फ्लाइओभर, रिङरोड विस्तार (कलंकी–बसन्धरा) र नदी कोरिडोर निर्माणलाई प्राथमिकता दिइएको छ । सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने गरी बजेटमा व्यवस्था गरेको छ ।
उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन र स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम सुरु गर्ने बजेट भाषणमार्फत मन्त्री वाग्लेले बताए । स्वास्थ्य क्षेत्रतर्फ तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा सहुलियत, धुलिखेल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्ने घोषणा गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाका लागि बजेटले सरकारले बजेटमा व्यवस्था गरेको छ । सरकारले हेटौंडामा २.५ मेगावाट क्षमताको ‘ग्रीन हाइड्रोजन’ पाइलट प्रोजेक्ट सुरु गरिने भएको छ । ग्रीन हाइड्रोजनको व्यवसायीक उत्पादनको लागि यक्त आयोजना अघि बढाउने सरकारको रणनीति रहेको छ ।
सरकारले हेटौंडामा रहेको मयूरधाप औद्योगिक क्षेत्रलाई निजी क्षेत्रमार्फत निर्माण र सञ्चालन गर्ने घोषणा गरेको छ भने हेटौंडा–नारायणगढ सडक स्तरोन्नति गर्न बजेट व्यवस्था गरेको छ । लामो समयदेखि अघि बढ्न नसकेको उक्त कार्य आगामी वर्षमा सक्ने गरी ४ लेन सडक विस्तार कार्य अघि बढाउन सरकारले बजेट व्यवस्था गरेको हो । सरकारले भरतपुर विमानस्थलको विस्तार गरी रात्रिकालीन उडान सुरु गर्ने बजेटमा घोषणा गरेको छ भने मानव विकास सूचकांकमा पछाडि परेका चेपाङ समुदायका लागि चितवनमा आवासीय नमुना विद्यालय सञ्चालन चितवनबाट नै सुरु गर्ने भएको छ । सरकारको बजेटले विभिन्न सुरुङमार्गको अध्ययन र निर्माण गर्ने घोषणा गरिएको छ । धादिङको नागढुंगा–मुग्लिन सडक खण्डको स्तरोन्नति र नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ । सरकारले आगामी वर्षमा नुवाकोटको टोखा–छहरे सुरुङमार्ग, सिन्धुलीको खुर्कोट चियाबारी सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
सरकारले सिन्धुलीको सुनकोशी मरिन डाइभर्सनको कामलाई तीव्रता दिने, नुवाकोट रसुवा जोड्ने गल्छी–स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नतिका लागि १ अर्ब ३५ करोड विनियोजन गरिएको छ । सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि याङ्ग्री र लार्के खोलाबाट पानी पथान्तरण गर्ने अध्ययन सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरेको छ । सरकारले दोलखा स्थित तामाकोशी–५ जलविद्युत् आयोजना र रामेछापको खिम्ती–बाह्रबिसे–काठमाडौं प्रसारण लाइन निर्माणलाई बजेटले प्राथमिकता दिएको छ । काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने, काठमाडौंको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने र पदमार्ग (ग्रेट हिमालयन ट्रेल) को विकास गर्ने सरकारले बजेटमा घोषणा गरेको छ ।
सरकारले बागमती प्रदेशका विभिन्न जिल्लामा २८० खानेपानी आयोजना सम्पन्न गर्न र उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने कार्यलाई निरन्तरता दिन बजेट छुट्याइएको छ । काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनका लागि ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड’ लगायतका निकायलाई गाभी एकीकृत संरचना बनाउने घोषणा गरिएको छ ।
सरकारले हेटौंडा लगायतका प्रमुख सहरहरूमा खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न २ अर्ब ३४ करोड विनियोजन गरिएको छ भने हेटौंडा–ढल्केवर–इनरुवा ४०० के.भी. प्रसारण लाइनको निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने, हेटौंडा–रातमाटे–लप्सीफेदी प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिने भएको छ । (स्रोतः रातोपाटी)







