गौरिटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको रूपमा विकास गर्ने : मुख्यमन्त्री बानियाँ

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडाको गौरिटार रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको आधुनिक खेलकुद केन्द्रका रूपमा विकास गरिने बताएका छन्। आइतबार गौरिटार रङ्गशालामा निर्माण गरिएको क्रिकेट मैदानको उद्घाटन गर्दै उनले प्रदेश सरकारले आगामी बजेटमार्फत आवश्यक स्रोत व्यवस्थापन गरी रङ्गशालाको पूर्वाधार विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

बागमती प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको क्रिकेट मैदानको शिलालेख अनावरण गर्दै उद्घाटन गरेका मुख्यमन्त्री बानियाँले गौरिटार रङ्गशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाइएको बताए। उनले क्रिकेट मैदानसँगै प्यारापिट, हेल्थ डेक्स, सिन्थेटिक ट्र्याक लगायतका पूर्वाधार निर्माण गरी रङ्गशालालाई बहुउद्देश्यीय खेलकुद केन्द्रका रूपमा विकास गरिने जानकारी दिए।

उनले प्रदेशको खेलकुद विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लगायत सरोकारवाला निकायसँग समन्वय गरेर राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सकिने वातावरण तयार पारिने बताए। खेलाडीहरूको भविष्य सुरक्षित गर्न प्रदेश सरकारले ‘बागमती प्रदेशको शान, खेलाडीको सम्मान’ अभियान अघि सारेको उल्लेख गर्दै योगदान पुर्‍याएका खेलाडीलाई खेल जीवनपछि पनि सम्मान र भत्ताको व्यवस्था गरिने उनले बताए। कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले गौरिटार क्रिकेट मैदान बागमती प्रदेशको क्रिकेट विकासको केन्द्र बन्ने विश्वास व्यक्त गरे। उनले क्रिकेट खेलाडीहरूले अब आफ्नै सुविधासम्पन्न मैदान पाएको उल्लेख गर्दै यसबाट प्रदेशमा थप प्रतिभावान खेलाडी उत्पादन हुने अपेक्षा व्यक्त गरे।

ADVERTISEMENT

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य सचिव दीपक लामाका अनुसार गौरिटार क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच वटा पिचसहित निर्माण गरिएको छ। दुई वर्षअघि सुरु भएको निर्माण कार्यमा ११ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ। मैदानमा आधुनिक भूमिगत ड्रेनेज प्रणाली, बर्मुडा दुबो, ६०० दर्शक क्षमताको प्यारापिट, भीभीआईपी कक्ष, खेलाडी चेन्जिङ रुम, मिडिया तथा प्रसारण कक्ष लगायतका संरचना निर्माण भइसकेका छन्।

प्रदेश सरकारले गौरिटार रङ्गशालालाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्न सक्ने स्तरको खेलकुद पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *