हेटौँडा, विश्व वातावरण दिवस–२०८३ को अवसरमा सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हेटौँडा–८ मा आयोजित ‘फोहोर खोज चुनौती कार्यक्रम’ सम्पन्न भएको छ। कार्यक्रममा १९ वटा टोल विकास संस्थाका ३८ समूहले सहभागिता जनाउँदै २ हजार २ सय केजी अजैविक फोहोर संकलन गरेका छन्। हेटौँडा उपमहानगरपालिकाको सहयोग, टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–८ को व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा हेटौँडा–८ का वडा सदस्य गोरख राय, नगर समन्वय समितिका सचिव तथा कार्यक्रम संयोजक शुशिला मल्ल, वडा समन्वय समितिका अध्यक्ष कुमार केसीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले वातावरण संरक्षणका लागि समुदायस्तरबाट सञ्चालन हुने यस्ता अभियानले नागरिकमा जिम्मेवारीबोध बढाउनुका साथै स्वच्छ र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले वातावरणीय चुनौती समाधानका लागि स्थानीय तह, संघसंस्था र नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष अधिकारीले प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोरको उचित व्यवस्थापन आजको प्रमुख आवश्यकता भएको बताउँदै ‘स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौँडा’ निर्माणका लागि टोलस्तरबाट अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
प्रतियोगिताको नतिजाअनुसार कालिका टोल विकास संस्था प्रथम, विकास टोल (समूह ‘बी’) द्वितीय तथा मनकामना टोल (समूह ‘सी’) तृतीय भएका छन्। त्यसैगरी कालिका टोल (समूह ‘बी’), मनकामना टोल (समूह ‘बी’), बिन्दबासिनी टोल (समूह ‘बी’) र सृजना टोलले सान्त्वना स्थान हासिल गरेका छन्। आयोजकका अनुसार प्रथम हुने समूहलाई १० हजार रुपैयाँ, द्वितीयलाई ७ हजार ५ सय रुपैयाँ, तृतीयलाई ५ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त प्रत्येक समूहलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। पुरस्कारहरू विश्व वातावरण दिवसको मूल समारोहमा आगामी जेठ २२ गते वितरण गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा सहभागी टोल विकास संस्था, स्वयंसेवक तथा स्थानीयवासीहरूले वातावरण संरक्षण, फोहोर व्यवस्थापन र सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्दै सरसफाइ र फोहोर व्यवस्थापनप्रति नागरिकको सहभागिता बढाउन कार्यक्रम प्रभावकारी बनेको आयोजकले जनाएको छ।







