हेटौँडा, मातृभूमि साहित्य समाजले प्रदान गर्दै आएको ईश्वरी स्मृति मातृभूमि सम्मान–२०८२ यस वर्ष गुल्मीका वरिष्ठ साहित्यकार शशी पन्थीलाई प्रदान गर्ने भएको छ। पन्थीलाई नगद १५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिने समाजले जनाएको छ।
समाजको मिति २०८३ जेठ १८ गते बसेको कार्यसमिति बैठकले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेको हो। बैठकले साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गर्ने निर्णय गरेको समाजका सचिव किशन पौडेल ले जानकारी दिए।
यसैगरी मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०८२ धरानका साहित्यकार गिरिराज आचार्य लाई नगद १५ हजार रुपैयाँसहित प्रदान गरिने भएको छ। त्यस्तै शेखर शर्मा रिजाल स्मृति मातृभूमि सम्मान–२०८२ अन्तर्गत कला साधक माधव सिलवाल (हेटौँडा) लाई १५ हजार रुपैयाँ, गजलकार स्वस्तिका दाहाल (बकैया) लाई ७ हजार ५ सय रुपैयाँ तथा मुक्तककार सुमि थिङ (राक्सिराङ) लाई ७ हजार ५ सय रुपैयाँसहित सम्मान गरिने निर्णय गरिएको छ।
हेटौँडा उपमहानगरपालिका–१० को सहकार्यमा मातृभूमि साहित्य समाजले आगामी जेठ ३० गते हेटौँडामा ‘शिक्षालयमा सांस्कृतिक सन्देश’ विषयक परिचर्चा कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा निबन्धको सैद्धान्तिक पक्षमाथि छलफल, निबन्ध कृतिको विमर्श, स्रष्टा सम्मान तथा रचना वाचनलगायतका गतिविधि सञ्चालन गरिनेछन्।







