बोत्तल देउँ, बिरूवा लिउँ अभियान अन्तर्गत १५० भन्दा बढी बिरुवा वितरण

हेटौँडा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–७ र श्रीनिवास टोल विकास संस्था हेटौंडा–७ को समन्वयमा सञ्चालित बोत्तल देउँ, बिरूवा लिउँ कार्यक्रम आज श्रीनिवास टोल विकास संस्थाको परिसरमा सम्पन्न भएको छ।

ADVERTISEMENT

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दामोदर गौतम प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका सदस्य लक्ष्मी अधिकारी, सुरेश लामिछाने, टोल विकास संस्था वडा समन्वय समिति वडा नं. ७ का अध्यक्ष युवराज गौतम, श्रीनिवास टोल विकास संस्थाका अध्यक्ष मनोज अर्याल, पूर्व अध्यक्ष जनार्जन पौडेल, संगालो टोल विकास संस्थाका अध्यक्ष रोम ब। न्यौपाने लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दाहरूबाट संकलित प्लास्टिकका बोतलहरूको सट्टामा लिची, आँप, अम्बा, कागती लगायतका १५० भन्दा बढी फलफूलका बिरुवाहरू वितरण गरिएको थियो। वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दामोदर गौतमले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै समुदायस्तरबाट सञ्चालन हुने यस्ता अभियानहरूले सरसफाइ, हरियाली विस्तार तथा नागरिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

तटोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले टोल विकास संस्थाहरू केवल भौतिक विकासका लागि मात्र नभई सामाजिक रूपान्तरण, वातावरण संरक्षण, महिला सशक्तीकरण, सरसफाइ तथा जनचेतनामूलक अभियानका महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँले नागरिक सहभागितामा आधारित यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका आयोजकहरूले हालसम्म तीन चरणमा ६ सयभन्दा बढी बिरुवा वितरण गरिसकिएको जानकारी दिँदै आगामी दिनमा एक हजार एक सय बिरुवा वितरण गर्ने लक्ष्य रहेको बताएका छन्। अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइने र हेटौंडालाई थप हराभरा, स्वच्छ र वातावरणमैत्री नगर बनाउन टोल विकास संस्थाहरू सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

टोल विकास संस्था नगर समन्वय समितिले विगतदेखि नै हरियाली प्रवर्द्धन, सरसफाइ अभियान, महिला सशक्तीकरण, युवा परिचालन लगायतका सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा विस्तार गरिने आयोजकहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *