मकवानपुरको पाँचजना इस्टुको राष्ट्रिय समितिमा

हेटौडा, संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) को राष्ट्रिय समितिमा मकवानपुरका पाँच जना शिक्षक निर्वाचित भएका छन् ।

ADVERTISEMENT

काठमाडौंमा सम्पन्न इष्टुको सातौँ राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका पाँच जना शिक्षकहरू चयन भएका हुन् । युनियनकाे उपाध्यक्षमा ज्ञानदीप शिक्षा निकेतन मावि, हेटाैँडा-५ का सहायक प्रधानाध्यापक दीपक गाैतम, उपमहासचिव पदमा साेलिड्यारिटी इन्टरनेसनल एकेडेमी, हेटाैँडा-१० का श्यामकृष्ण ज्ञवाली तथा सदस्यहरूमा हेटाैँडा माेडर्न आवासीय मावि, हेटाैँडा-९ का प्रधानाध्यापक सुदीप बर्ताैला, नवाेदय शिशु सदन, हेटाैँडा-४ का शिक्षक चन्द्रमणि (सीएम) रिमाल र ज्ञानदीप शिक्षा निकेतन माविका शिक्षक नवीनकुमार मिश्र निर्वाचित भएका हुन् ।

सातौँ महाधिवेशनले होमकुमार थापाको नेतृत्वमा ६१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । समितिको सह–अध्यक्षमा डा. मोतीराम फुँयाल, देवीदत्त पौडेल र केशवराज पाठक चयन भएका छन् । यस्तै नारायण पौडेल र सरिता निरौला वरिष्ठ उपाध्यक्ष र भुपाल उप्रेती महासचिवमा चयन भएका छन् । महाधिवेशनले नयाँ समिति चयन गर्दै १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्ने तथा सरकारले तोकेको तलब, बिदा र अन्य सुविधा उपलब्ध गराउन माग गरिएको छ । त्यस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घ गठन, शिक्षकको पेसागत विकासका लागि तालिम, निजी विद्यालयको लगानी संरक्षण, प्रभावकारी अनुगमन र नियमनका लागि अधिकारप्राप्त संयन्त्र निर्माण तथा संयन्त्रमा इष्टुको अर्थपूर्ण सहभागिता हुनुपर्ने माग गरिएको छ ।

इष्टुले शिक्षकहरूलाई विद्यालयस्तरीय आयोग, समिति, तालिम, गोष्ठी र छलफलमा अनिवार्य सहभागी गराउनुपर्नेमा जोड दिएको छ । साविकका शिक्षा ऐन नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ बनाउन र ऐनमा नबाझिने गरी विद्यालय सञ्चालन विनियमावली अनिवार्य बनाउन माग गरिएको छ ।

Advertisement 5

संस्थागत विद्यालयका शिक्षकहरूको पेसागत वृत्तिविकासको लागि तालिम, निजी लगानीमा खोलिएका विद्यालयहरुको स्थायित्वको निम्ति वास्तविक लगानीको संरक्षण, निजी लगानीका विद्यालयहरूको प्रभावकारी अनुगमन, नियमन तथा कारवाहीको लागि अधिकार प्राप्त संयन्त्र बनाउने र उक्त संयन्त्रमा इष्टुको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने, संस्थागत बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीको अभिलेख आधिकारिक रूपमा पालिकाको शिक्षा शाखा र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा राख्ने व्यवस्था मिलाउनु पर्ने, प्राकृतिक प्रकोप, रोगब्याधी आदि कारणवश लामो अवधि विद्यालय सञ्चालन हुन नसक्ने अवस्थाको लागि विद्यालयद्वारा विशेष आर्थिक कोषको व्यवस्था गर्नुपर्ने माग गरिएको नवनिर्वाचित उपाध्यक्ष गाैतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *