हेटौँडा, बागमती प्रदेश सरकारले सडक आश्रित तथा सहयोगी अपेक्षित मानवहरूको उद्धार, पुनःस्थापना र व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन नयाँ कार्यविधि स्वीकृत गरेको छ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ‘सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार, पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि’ स्वीकृत गर्ने निर्णय गरेको हो। कार्यविधि लागू भएपछि सडकमा आश्रित भई जीवनयापन गरिरहेका तथा संरक्षण र सहयोग आवश्यक भएका व्यक्तिहरूको पहिचान, उद्धार, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनका कार्यहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
बैठकका निर्णय सार्वजनिक गर्दै खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले सडक आश्रित तथा संरक्षण आवश्यक भएका नागरिकहरूको उद्धार र व्यवस्थापनलाई संस्थागत तथा व्यवस्थित बनाउन कार्यविधि ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यविधिले सम्बन्धित निकायबीच समन्वय बढाउँदै उद्धार तथा पुनःस्थापनाका कार्यक्रमलाई थप व्यवस्थित बनाउनेछ।
यसैगरी मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारीसहित पदस्थापन गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले सामाजिक सुरक्षा तथा मानव सेवासम्बन्धी कार्यलाई प्राथमिकतामा राख्दै सडक आश्रित र सहयोगी अपेक्षित मानवहरूको जीवनस्तर सुधार तथा पुनःस्थापनाका लागि आवश्यक नीतिगत व्यवस्था अघि बढाएको जनाएको छ।






