हेटौँडा, मकवानपुरको राक्सिराङ गाउँपालिकामा कार्यरत सामुदायिक विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई शिक्षक डायरी तथा झोला हस्तान्तरण गरिएको छ। गाउँपालिकाको पहल तथा दिगो विकासका लागि एकता नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।
शिक्षकहरूको पेशागत जिम्मेवारीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने उद्देश्यले शिक्षक डायरी र झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ। दैनिक शैक्षिक गतिविधि अभिलेखीकरण, पाठयोजना व्यवस्थापन तथा विद्यालयीय कार्यसम्पादनलाई सहज बनाउन डायरी उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी शिक्षकहरूले यस्ता सामग्रीले आफ्नो पेशागत कार्यसम्पादनमा सहजता ल्याउने तथा शिक्षण–सिकाइ प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताएका थिए। साथै, स्थानीय तह र सहकार्यकारी संस्थाबाट प्राप्त सहयोगले शिक्षकहरूमा थप उत्साह र जिम्मेवारीबोध बढाएको उनीहरूको भनाइ थियो।
राक्सिराङ गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षकको क्षमता अभिवृद्धि तथा सिकाइ उपलब्धि वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। गाउँपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रको समग्र विकासका लागि सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, शिक्षा शाखाका प्रतिनिधि, दिगो विकासका लागि एकता नेपालका पदाधिकारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो।






