हेटौंडा,नेपाल परिवार नियोजन संघको अध्यक्षमा ईश्वर पण्डित चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको संघको ३० औं बार्षिक साधारणसभा एवम् अधिवेशनबाट पण्डितको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । संघको कोषाध्यक्षमा फूलमान श्रेष्ठ तथा सदस्यमा शोभा कोइराला, अभय श्रेष्ठ, गोरीमाया लामा, प्राची खतिवडा, युनिष श्रेष्ठ, जयन्ती श्रेष्ठ, अजय मानन्धर, रमी श्रेष्ठ र विना श्रेष्ठ चयन भएका छन् ।
नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य निगमलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा नेपाल औषधि व्यवसायी संघ मकवानपुर अध्यक्ष नारायणलाल श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव दीपक उप्रेती लगायतको आतिथ्यता थियो । अध्यक्षमा चयन भएका पण्डितले परिवार नियोजन संघको संस्थागत हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । संघको विधि र विधानमा रहँदै आफ्नो कार्यकाललाई नमूनालायक बनाउने उनको भनाई थियो ।
परिवार नियोजनको विषयमा आम सर्वसाधारण अझै अनभिज्ञ रहेको भन्दै उनले यस विषयमा समेत बुझाउन जरुरी रहेको बताए ।






