हेटौँडा, वडा प्रहरी कार्यालय सानोपोखरा, हेटौंडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको समन्वयमा आयोजित उक्त कार्यक्रम स्थानीय समाजसेवी माधव अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालयले गरेका गतिविधिहरूको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो। साथै, नागरिकहरूबाट उठाइएका प्रश्नहरूको जवाफ दिँदै उहाँले वडा प्रहरी कार्यालय मातहतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नागरिक सुनुवाई कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, वडा नम्बर ५ का वडा अध्यक्ष सुशिल घिमिरे, वडा नम्बर २ का वडा सदस्य इन्द्र रिजाललगायत स्थानीय व्यवसायी, विद्यालयका शिक्षक प्रतिनिधि तथा टोल विकास संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले क्षेत्रका सुरक्षा चुनौती र समस्या विषयमा वडा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए।
कार्यक्रममा हेटौंडा–४ का वडा सदस्य गीता त्रिपाठी, वडा नम्बर ५ का वडा सदस्य रामबहादुर राई, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय विद्यालयका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
यसअघि भाडाको घरमा सेवा प्रदान गर्दै आएको वडा प्रहरी कार्यालय सानोपोखराले विगत दुई वर्षदेखि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित हुप्राचौर डाटा सेन्टर नजिकै आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको छ।







