हेटौँडा, मकवानपुर जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले लगातार दोस्रो जित दर्ता गरेको छ। मकवानपुर क्रिकेट संघको आयोजनामा हेटौँडास्थित गौरीटार क्रिकेट मैदानमा सञ्चालन भइरहेको चौथो संस्करणको निरज श्रेष्ठ स्मृति टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा नवोदयले जीएस निकेतन विद्यालयलाई ५१ रनले पराजित गर्दै विजयी यात्रा कायम राखेको हो।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नवोदयले डकवर्थ–लुइस–स्टर्न (डीएलएस) प्रणालीअनुसार हेटौँडा एकेडेमीलाई २३ रनले हराएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नवोदयले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो। नवोदयका लागि तेजस नेपालले सर्वाधिक २७ रनको योगदान दिए। यस्तै, सुयोग अधिकारीले १२ रन तथा आदित्य यादवले १० रन बनाए।
जीएस निकेतनका बलर बासुदेव पाण्डे र युनिश सुवेदीले समान ३–३ विकेट लिए भने प्रवेश नेपाल र सुमाग्र भण्डारीले समान १–१ विकेट हात पारे। ९५ रनको विजयी लक्ष्य पछ्याएको जीएस निकेतन १० ओभरमै अलआउट हुँदै ४३ रनमा समेटियो। टोलीका लागि सुमाग्र भण्डारीले अविजित १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
जीएस निकेतनलाई सस्तो योगफलमा रोक्न नवोदयका बलरहरू प्रभावशाली देखिए। कोशिष कप्रौलाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने सुप्रिम गौतमले ३ विकेट हात पारे। हिमान्शु हुमागाईँले २ विकेट तथा समर्पण थापाले १ विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिन सफल नवोदयका कोशिष कप्रौला ‘म्यान अफ द म्याच’ घोषित भए।






