सिआन पुनर्स्थापना केन्द्र राष्ट्रिय रूपमा सम्मानित

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–९ स्थित सिआन पुनर्स्थापना केन्द्र लागुऔषध दुर्व्यसनबाट प्रभावित व्यक्तिहरूको उपचार, पुनर्स्थापना तथा समाजमा पुनःस्थापनाका क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि राष्ट्रिय स्तरमा सम्मानित भएको छ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा केन्द्रलाई ‘कार्यसम्पादन उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको हो। देशभर सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रहरूमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा सिआन पुनर्स्थापना केन्द्रलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले केन्द्रको प्रभावकारी सेवा, सामाजिक उत्तरदायित्व तथा लागुऔषध दुर्व्यसन न्यूनीकरणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए। साथै संस्थाको सेवामूलक कार्यलाई थप प्रोत्साहन गर्ने उद्देश्यले गृह मन्त्रालयले रु। १ लाख नगद अनुदान समेत प्रदान गरेको छ।

सिआन पुनर्स्थापना केन्द्रका तर्फबाट विभागीय प्रमुख उत्सव अर्याल ले सम्मानपत्र तथा नगद अनुदान ग्रहण गरेका थिए। सम्मान ग्रहणपछि उनले यो पुरस्कार सम्पूर्ण संस्थागत परिवार, स्वास्थ्यकर्मी, परामर्शदाता, कर्मचारी, शुभेच्छुक तथा पुनर्स्थापनाको यात्रामा रहेका सेवाग्राहीहरूको साझा मेहनतको प्रतिफल भएको प्रतिक्रिया दिएका छन्। उनले आगामी दिनमा पनि गुणस्तरीय सेवा विस्तार गर्दै लागुऔषधमुक्त समाज निर्माणका लागि अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

सिआन पुनर्स्थापना केन्द्रले विगत धेरै वर्षदेखि लागुऔषध दुर्व्यसनको समस्यामा परेका व्यक्तिहरूलाई उपचार, मनोसामाजिक परामर्श, पुनर्स्थापना, सीप विकास तथा समाजमा पुनःएकीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *