हेटौँडा, मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई घटनामा प्रयोग भएको धारिलो हतियारसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सबिन नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २०८३ साल असार १६ गते राति करिब ११ः५५ बजे हेटौँडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि नेपालीले कुटपिट गर्नुका साथै धारिलो हतियार (टाप) प्रहार गरेका थिए। उक्त घटनामा तामाङ गम्भीर घाइते भएका थिए।
घटनापछि फरार रहेका नेपालीलाई वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा असार १७ गते बिहान करिब २ बजे हेटौँडा–५ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो। पक्राउका क्रममा घटनामा प्रयोग भएको धारिलो हतियार (टाप) समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले नेपालीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत मकवानपुरबाट आठ दिनको म्याद अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।






