हेटौँडा, बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ प्रदेश घोषणा गरिएको छ । शुक्रबार हेटौंडामा आयोजित एक समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्नुभएको हो । उहाँले घोषणालाई निरन्तरता दिने प्रतिबद्धता पत्रमा पनि हस्ताक्षर गर्नुभयो । यसअघि कर्णाली र गण्डकी प्रदेशलाई घोषणा गरिसकेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले मानवसेवा आश्रमसँगको सहकार्यमा यो घोषणा गरिएको हो । प्रदेशभर सडकमा सहयोगापेक्षी अवस्थामा रहेका व्यक्तिको व्यवस्थापन तथा पुनस्र्थापनाको अभियानलाई औपचारिक रुपमा घोषणा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधापस्थित मानवसेवा आश्रम १४ वर्षदेखि काम गर्दै आएको छ । २३ जिल्लाका ३४ स्थानमा शाखा स्थापना गरेर काम गरिरहेको आश्रमले बागमती प्रदेशको मकवानपुरसहित चितवन, काठमाडौं, ललितपुर, भक्तपुर र धादिङसहित १० जिल्लामा सेवा विस्तार गरेको छ । बागमतीमा हेटौंडासहित १० वटा आश्रममा शुक्रबारसम्म ३३२ महिला र ५७९ पुरुष गरी ९ सय ११ जनाले आश्रय लिइरहेका छन् ।
हेटौंडाबाट सुरु भएको मानवसेवा आश्रमले हालसम्म बागमती प्रदेशका विभिन्न जिल्लाबाट १ हजार ७ सय जना भन्दाबढीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका कतिपयलाई पारिवारिक पुनर्मिलन गराएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । २०८२ सालमै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ देश घोषणा गर्ने लक्ष्य लिइए पनि जेनजी आन्दोलन, निर्वाचनलगायतका कारण पूरा नभएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
मानव सेवा आश्रमको मुख्यालय रहेको हेटौंडामा २५० जना आश्रित छन् । वागमती प्रदेश सरकारले मानव सेवा आश्रमलाई चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी आवका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । विभिन्न कारणले घरपरिवारवाट विस्थापित भएर सडकमा कष्टकर जीवन विताइरहेकालाई मायाप्रेम दिने एवं परिवारमा पुर्नस्थापना गर्ने उद्देश्यले मानव सेवा आश्रम स्थापना गरेको आश्रमका अध्यक्ष अधिकारीले बताउनुभयो ।
आगामी साउनमा लुम्बिनी र कात्तिकमा कोशी प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरिने आश्रमले जनाएको छ ।






