हेटौंडा, हेटौंडामा जारी ४ नम्वर वडा विद्यालय स्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबलको उपाधीको लागि नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय र ब्रम्हदिक एकेडेमी भिड्ने भएका छन् ।
सोमबार भएको पहिलो सेमिफाइनल खेलमा श्रमिक माध्यमिक विद्यालयलाई २–० को गोल अन्तरले पराजित गर्दै ब्रम्हदिक फाइनल प्रवेश गरेको हो । ब्रम्हदिकका कप्तान अनुज कार्की र सुजिता भोम्जनले गोल गरेका थिए । सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय विजयी भएको छ । ट्राइबेकरमा आमसाई विद्यालयलाई ३–२ को गोल अन्तरले पराजित गर्दै नवोदय फाइनल प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । निर्धारित समयमा गोल गर्ने अवसरहरु पाएपनि नवोदयले गोल गर्न चुक्यो ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई १–० को गोल अन्तरले पराजित गर्दै आमसाई सेमिफाइनल प्रवेश गरेको प्रतियोगिता संयोजक अनुज कार्कीले जानकारी दिए । उक्त खेलका आमसाईका अभिशेक लम्सालले गोल गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भएको प्रतियोगितामा विजेता टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल मंगलबार बेलुका ४ बजे हुने संयोजक कार्कीले बताए । शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन र ब्रम्हदिक एकेडेमीको सहव्यवस्थापन भएको प्रतियोगितामा नवोदय शिशु सदन, ब्रम्हदिक एकेडेमी, सत्यम जेभियर्स माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र आमसाई विद्यालयको सहभागिता रहेको छ ।






