हात्तिसुँडे–शिखरपुर–अम्वास सडक ‘प्रदेश प्राथमिकता प्राप्त आयोजना’ मा छनोट

हेटौंडा, बागमती प्रदेश सरकारले मकवानपुरको बकैया गाउँपालिकामा पर्ने हात्तिसुँडे–शिखरपुर–अम्वास सडक आयोजनालाई ‘प्रदेश प्राथमिकता प्राप्त आयोजना’का रूपमा छनोट गर्ने निर्णय गरेको छ ।

ADVERTISEMENT

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (अतिरिक्त लगानी) अन्तर्गत रणनीतिक महत्वको मानिएको उक्त सडकको स्तरोन्नतिका लागि निर्णय गरिएको हो ।  सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार ग्रामीण क्षेत्रको आर्थिक र सामाजिक विकासमा सो सडकले महत्त्वपूर्ण भूमिका खेल्नेछ । उक्त सडकका लागि ५.९७७ हेक्टर वन क्षेत्रको प्रयोग र ८१ वटा रुख कटानका लागि नेपाल सरकारबाट यसअघि नै स्वीकृति प्राप्त भइसकेकाले सो कार्यको सहजताका लागि प्रदेश प्राथमिकता प्राप्त आयोजनाका रूपमा छनौट गरिएको उनले बताए ।

शुक्रबार बसेको बैठकले सामाजिक विकासका क्षेत्रमा महत्त्वपूर्ण कदम चाल्दै बैठकले ‘बाल विवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति तथा कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ भने प्रदेशभित्रका दलित समुदायको सशक्तीकरणका लागि आवश्यक व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरिएको छ । स्थानीय सेवा सुधार: स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनका लागि विधेयकको मस्यौदा परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय भएको छ भने सहकारी ऐन संशोधन: प्रदेश सहकारी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *