एकपटक जिताउनुहोस्, साझा भएर काम गर्छु : पराजुली

हेटौंडा/सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले एकपटक जनप्रतिनिधि भएर सेवा गर्ने मौका दिन अनुरोध गर्दै साझा भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

ADVERTISEMENT

उनले जनताको माझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक हात जोडेर मतदाताकोमा नआउने उद्घोष गरे । चुनावी कार्यक्रम अन्तर्गत हेटौंडा–७ मा भएको घरदैलो कार्यक्रममा उनले कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारले झुटा आश्वासन, प्रलोभन र गर्नै नसक्ने ठूल्ठूला भाषण गरेर जनता झुक्याउने काम नगर्ने बताए । ‘संविधान, लोकतन्त्र र मुलुक जोगाउन लागिपरेका ५ वटा दल एकढिक्का भएर संविधान विरोधी, प्रतिगमनकारी शक्तिसंग चुनावी प्रतिस्पर्धामा छौं’, पराजुलीले भने, ‘हामी एमालेले जस्तो आश्वासन, प्रलोभन र झुटको नारा बाँड्दैनौं, जे बोल्छौं, त्यो आफ्नो कार्यकालमा पूरा गरेरै छाड्छौं ।’ एमालेको नारा र आश्वासन झुटो सावित भैसकेको पराजुलीले बताए ।

५ बर्षको लागि प्राप्त जनादेशको अपमान गर्ने, बोलेको कुरा पूरा नगर्ने, सधैं भ्रम र झुट बोल्ने एमालेका उम्मेदवारलाई जनताले किन भोट दिने भन्दै प्रश्न गर्नुपर्ने सुझाव दिए । ‘फेरि पनि जनता झुक्याउन सकिन्छ कि भनेर अनेक आश्वासनको पोको लिएर आएका छन् । कुनै एजेण्डा नै नभएपछि गठबन्धन फुटाउन र गठबन्धनको विरुद्ध अफवाह फैलाउन लागेका छन्’, पराजुलीले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो । गठबन्धनका नेता कार्यकर्ताहरु एकढिक्का भएर जिल्लाको ६ वटै सिटमा हाम्रा उम्मेदवार जिताउन लागेका छौं । भ्रमको पछि नलाग्नुहुन आम नेता कार्यकर्ता र जनतालाई अनुरोध गर्न चाहन्छु ।’

सधैं जनताको सुखदुःखमा साथै रहँदै आएको भन्दै उनले चुनाव पछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए । जिल्लाको समस्या, अवसर र सम्भावनाको बिषयमा आफू जानकार रहेको दावी गर्दै उनले सबैलाई समेटेर जिल्लाको विकास र समृद्धिको अभियानमा लागिपर्ने बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *