हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीले मकवानपुर लागूऔषधको ट्रान्जिट प्वाइन्ट रहेको बताएका छन्। बिहीबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौँडा–११ को आयोजनामा भएको चाडपर्व लक्षित सुरक्षासम्बन्धी अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कारागारमा रहेकामध्ये ८० प्रतिशतभन्दा बढी लागूऔषध कारोबारी तथा सेवनकर्ता रहेको जानकारी दिए।
‘हाम्रो चाहना र उद्देश्य लागूऔषधलाई निर्मूल मात्र पार्नु होइन, तर हामीले चाहेर पनि सकेका छैनौँ,’ उनले भने। छोटो समयमा उत्पादन गरी बिक्रीवितरण गर्दा पैसा कमाउन सजिलो हुने भए पनि प्रहरीको समातमा परेर जेल पर्नुपर्ने जोखिम रहने उनले बताए। लागूऔषध सेवनकर्ताको अकालमा ज्यान जान सक्ने चेतावनी दिँदै उनले भने, ‘बुवाआमाले कमाउने, अनि छोराछोरीले प्रयोग गरेर जीवन बरबाद गर्ने अवस्था छ।’ एक पटक लागूऔषधको दलदलमा फसेपछि छुटकारा पाउन कठिन हुने उनको भनाइ थियो।
एसपी खत्रीले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, कालोबजारी, अवैध कारोबार तथा सवारी दुर्घटनाजस्ता घटनाको जोखिमलाई ध्यानमा राखेर प्रहरीले सुरक्षा सतर्कता बढाउने प्राथमिकता तय गरेको जानकारी दिए। सार्वजनिक स्थान, बजार क्षेत्र, मुख्य सडक, यात्रु आवागमन हुने स्थान तथा संवेदनशील क्षेत्रमा निगरानी र गस्ती प्रभावकारी बनाइने उनले बताए। यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्ने, ट्राफिक नियम पालना गराउने र मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्ने योजना रहेको पनि उनले जनाए। सुरक्षा व्यवस्थापनमा सञ्चारकर्मीको भूमिका र नागरिकको सहयोग पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो। चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रहरीले सुरक्षा निगरानीसँगै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
कार्यक्रमका आयोजक सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–११ का अध्यक्ष देवकुमार श्रेष्ठका अनुसार चाडपर्व कसरी सुरक्षित रूपमा मनाउने, भयरहित वातावरण कसरी बनाउने र समुदायमा प्रहरीको योजना के छ भन्नेबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–११ की वडाध्यक्ष जुना दाहाल, वडा सदस्यहरू सञ्जय बिडारी र गोपिनी सापकोटा, पूर्व अध्यक्षहरू सालिकराम पुडासैनी र सिद्धिलाल श्रेष्ठलगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा चाडपर्व भयरहित रूपमा मनाउने विषयमा प्रहरीसँग छलफल पनि भएको थियो।






