हेटौँडा, विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
प्रतियोगिता यही कार्तिक २० गतेदेखि २३ गतेसम्म थाहा नगरपालिका–२ स्थित फाँट बजारमा सञ्चालन हुनेछ। प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको भलिबल प्रतियोगिताको यो नवौँ संस्करण हो। यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गर्नुका साथै खेल सञ्चालनका नियममा समेत केही परिवर्तन गरिएको प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए।
गत वर्ष सम्पन्न आठौँ संस्करणमा प्रथम हुने टोलीले ५५ हजार ५५५ रुपैयाँ, द्वितीय हुने टोलीले २८ हजार ८८८ रुपैयाँ र तृतीय हुने टोलीले ११ हजार १११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए। तर, यस वर्ष पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिएको छ।
नवौँ संस्करणमा प्रथम हुने टोलीले १ लाख १ हजार १११ रुपैयाँ र द्वितीय हुने टोलीले ५० हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । त्यसैगरी, विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, सेटर, डिफेन्डर, उदयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ। प्रतियोगिताको सेमिफाइनल चरणपछिका खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ समेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (FIVB) को नियमअनुसार सञ्चालन हुनेछ। प्रतियोगितामा प्रत्येक टोलीबाट सम्बन्धित पालिकाका ६ जना र बाहिरका ३ जना गरी ९ जना खेलाडी समावेश गर्न पाइने व्यवस्था गरिएको छ। प्रत्येक टोलीमा १२ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना टोली व्यवस्थापक रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ। स्थायी खेलाडीका हकमा नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने आधिकारिक क्लब वा संघसंस्थाले आफ्नो प्रमाणपत्रको प्रतिलिपिसहित टोली दर्ता गर्नुपर्नेछ। तर, पालिकाका आधिकारिक टोलीका हकमा उक्त नियम लागू नहुने जनाइएको छ। टोली दर्ताको अन्तिम मिति कार्तिक १९ गते तोकिएको छ भने दर्ता शुल्क ३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। टोली दर्ता गर्दा खेलाडीको नामावलीसमेत आयोजकलाई बुझाउनुपर्नेछ। प्रतियोगितासम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि ९८५५०६८६३६ नम्बरमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।








