थाहा, मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब १५ शय्याको ‘थाहा नगर अस्पताल’का रूपमा सञ्चालनमा आएको छ। नगर प्रमुख विष्णुबहादुर विष्टले आज एक कार्यक्रमबीच अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ अनुसार स्थानीय तहमा सञ्चालन हुने ५, १० र १५ शय्याका आधारभूत अस्पतालको व्यवस्थापन, सेवा प्रवाह, जनशक्ति तथा न्यूनतम सेवा मापदण्ड निर्धारण गरिएको छ। सोही मापदण्डअनुसार पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको थाहा नगर अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको हो।
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन उद्घाटनकै अवसरमा नयाँ अस्पताल सञ्चालन समिति गठन गरिएको छ। नगर प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा नगर उपप्रमुख भरत गोपाली रहेका छन्।
समितिको सदस्यमा सामाजिक विकास समिति संयोजक दिनेश बल, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी रहेका छन्। अस्पतालका प्रमुख डा. जोनशन विक सदस्य सचिव रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, कार्यपालिकाले तोक्ने गरी समितिमा थप दुई जना महिला सदस्य रहने व्यवस्था गरिएको छ।
थाहा नगर अस्पताल सञ्चालनमा आएसँगै नगरवासीले आफ्नै स्थानीय तहमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। अस्पतालको सेवा विस्तार, व्यवस्थापन र गुणस्तर सुधार गर्दै स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने नगरपालिकाको लक्ष्य रहेको छ।







