खेलकुद प्रतियोगितामा आधुनिक राष्ट्रिय विद्यालय प्रथम

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा भएको प्रथम वृहत खेलकुद प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय प्रथम भएको छ । वडा नम्वर ४ मा रहेका सामूदायिक तथा संस्थागत विद्यालयहरुबीच भएको विविध प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई शनिबार पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा श्रमिक माध्यमिक विद्यालय दोस्रो, भुटनदेवी माध्यमिक विद्यालय तेस्रो, नवोदय शिशु सदन चौथो र ब्रम्हदिक एकेडेमी पाँचौ हुन सफल भयो ।

ADVERTISEMENT

शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका पूर्व अध्यक्ष रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको दुईदिने प्रतियोगितामा एथ्लेटिक्स विधातर्फ १०० मिटर छात्र/छात्रा दौड प्रतियोगिता, २०० मिटर छात्र/छात्रा दौड प्रतियोगिता, १०० मिटर रिले दौड, लङ जम्प, त्रिपल जम्प, सटपुटका खेल भएका थिए । त्यसैगरी क्रिकेट, भलिबल, फुटबल प्रतियोगिता पनि सञ्चालन भएको थियो ।

शनिबार भएको क्रिकेट फाइनल प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालयलाई पराजित गर्दै आधुनिकले रोमाञ्चक ७ रनले विजयी हासिल गर्न सफल भयो । आधुनिकले श्रमिक विद्यालयलाई र भुटनदेवीले नवोदय विद्यालयलाई पराजित गर्दै दुवै टिम क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा श्रमिकलाई १–० को गोल अन्तरले पराजित गर्दै आधुनिक विजयी बन्यो। शनिबार भएको भलिबल प्रतियोगिताको फाइनल खेलमा श्रमिक विद्यालयलाई २५–२० र २५–१३ को सोझो सेटले पराजित गर्दै आधुनिक विजयी बनेको हो । यसैगरी भुटनदेवी माध्यमिक विद्यालयलाई २५–१५ र २५–१२ को सोझो सेटले पराजित गर्दै नवोदय शिशु सदन तेस्रो भयो । खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलले बताए ।

कार्यक्रममा हेटौंडा ४ का वडा सदस्य गीता त्रिपाठीले ४ नम्वर वडाले सञ्चालन गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमहरु अरु वडाले पनि सञ्चालन गर्न आग्रह गरिन् । कार्यक्रममा बाल क्लव सञ्जाल हेटौंडा ४ की अध्यक्ष दर्शना सापकोटाले कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरुले अनुशासितको कमी भएकोले गर्दा विद्यार्थीलाई अनुशासनको मर्यादा राख्न आग्रह गरेकी थिइन् । कार्यक्रममा हेटौंडा ४ नम्वर वडा सचिव पुष्पराज पौडेल, वडा सदस्य जेन श्रेष्ठ, भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहाललगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *