श्रीलंका जस्तो नेपाल टाँट पल्टिँदैन : वाग्ले

हेटौंडा, नेपालका युवा अर्थविद् डा. स्वर्णीम वाग्लेले नेपाल श्रीलंका जस्तो आर्थिक टाँट पल्टिने अवस्थामा नपुगेको बताएका छन् । गठबन्धनमा आबद्ध दल निकटको उद्योगी व्यवसायी संघले बुधबार हेटौंडामा आयोजना गरेको उद्योगी व्यवसायीहरुको वर्तमान समस्या र यसको समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा उनले कुप्रचार गरिएको जस्तो नेपालको आर्थिक अवस्था नभएको बताएका हुन् । ‘धेरै उद्योगी व्यवसायीहरु समस्यामा छन् ।

नेपालको अर्थतन्त्र समस्यामा छ’, वाग्लेले भने, ‘श्रीलंकाको समस्या र हाम्रो समस्या फरक हो । कुशासनले केही समस्या भएको छ ।’ आयातबाट धानिरहेकोले श्रीलंका आर्थिक समस्यामा परेको उनको भनाई थियो । शासकीय उन्मादले अनुत्पादक कार्यमा लगानी गरेको र कोभिडका कारण श्रीलंका टाँट पल्टिएको वाग्लेले जानकारी दिए । ८ महिनासम्मको आयात धान्न सक्ने मौज्दात रकम नेपालसंग रहेको उनले बताए । नेपाल १०/१५ बर्षदेखि आर्थिक दुस्चक्रमा फसेको जानकारी दिँदै अर्थविद् वाग्लेले स्थानीय उत्पादनलाई बढावा दिनुपर्ने सुझाव दिए ।

स्थानीय उत्पादन भन्दा आयातमा सहज ठान्ने प्रवृत्तिले समस्या भएको उनको भनाई थियो । गठबन्धन दल निकटको नेपाल लोकतान्त्रिक व्यापार संघ, नेपाल उद्योग व्यापार महासंघ र राष्ट्रिय व्यापार संगठन मकवानपुरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । नेपाल उद्योग व्यापार महासंघका बागमती प्रदेश उपाध्यक्ष सुन्दर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय गौतम, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मधु अधिकारी, लोकतान्त्रिक व्यापार संघ मकवानपुरका अध्यक्ष काव्यमणि अधिकारी लगायतले उद्योगी व्यवसायीलाई परेको समस्याको बारेमा जानकारी दिँदै मुलुकको विकास र समृद्धिका लागि सत्तारुढ गठबन्धनले जित्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button