कैलाशले ल्यायो नीति कार्यक्रमसँगै ५५ करोड ८४ लाखको बजेट

कैलाश, मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको बजेट प्रस्तुत गरेको छ । बुधबार बसेको १८ औं गाउँसभाले उक्त बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।गाउँसभाका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको सभामा अध्यक्ष मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले महिला बालबालिका, जेष्ठनागरिक, युवा लक्षित विभिन्न कार्यक्रम गरिनुका साथै चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा विकास र विस्तार गरिनुका साथै असल अभ्यासका कार्यक्रमहरुलाई आगामी वर्ष पनि गरिने जनाइएको छ ।

ADVERTISEMENT

नीति कार्यक्रममा एक घर एक धारा, पूर्ण सरसफाइ उन्मुख पालिका घोषणाका लागि आवश्यक कार्य गरिने बताए । कृषि क्षेत्रमा रैथाने बाली खेतीको संरक्षण र विस्तार गरिने, बाँझो जमीन नराखौं, उत्पादन बढाऔँ भन्ने हेतका साथ कृषिलाई आधुनिक र व्यवसायिक बनाउने बताए ।
अध्यक्ष मुक्तानले स्वास्थ्यतर्फ वीपी स्मृती कैलाश आधारभूत अस्पतालमा चिकित्सक तथा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरि आकस्मिक स्वास्थ्य सेवा गरिने बताए । कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ अभियान सञ्चालनलाई निरन्तरता रहने बताउँदै जिरो होम डेलिभरी नीति कार्यान्वयनका लागि आवश्यक कार्यक्रम गरिने बताए । सुशासन, पारदर्शिता र वित्तीय अनुशासन सुदृढ गर्दै बक्यौता, पेश्की तथा बेरुजु फछर्यौटलाई प्राथमिकता दिई शुन्य बेरुजुतर्फ उन्मुखतर्फ गाउँपालिका जाने नीति लिएको बताए ।

सभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार बजेट प्रस्तुत गरेका हुन् । उनले बजेटमा आयतर्फ संघको वित्तीय समानीकरणमा रु।९ करोड ८९ लाख, शर्सतमा १९ करोड २५ लाख, राजश्व बाँडफाँटमा १० करोड ३ लाख ९१ हजार, समपूरक अनुदानमा २ करोड ५९ लाख, विशेष अनुदानमा एक करोड गरी ४२ करोड ७६ लाख ९१ हजार रहेको छ भने प्रदेशतर्फ वित्तीय समानीकरणमा रु। ८१ लाख ९८ हजार, शर्सतमा एक करोड ३२ लाख ७९ हजार, राजश्व बाँडफाँटमा ३ करोड ८२ लाख ४४ हजार ९१०, समपूरक अनुदानमा २ करोड ८० लाख, विशेष अनुदानमा ७० लाख गरी ९ करोड ४७ लाख २१ हजार ९१० रुपैयाँ रहेको प्रस्तुत गरेका छन् । गाउँपालिकातर्फ भने विभिन्न शीर्षकमा ३ करोड ६० लाख ५६ हजार ९० रुपैयाँ आय हुने अनुमान गरिएको छ ।

त्यस्तै, व्यवतर्फ आर्थिक विकासतर्फ २ करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धिततर्फ ७५ लाख ५४ हजार, पूर्वाधारतर्फ १५ करोड ७० लाख, सामाजिक विकास तर्फ २४ करोड ८९ लाख १५ हजार, वातावरण तथा विपद्तर्फ ४३ लाख र गाउँपालिका प्रशासनिक खर्चतर्फ ११ करोड ८६ लाख रुपैयाँ रहेको छ । सभामा आव २०८३/०८४ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक,२०८३, र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित समेत भएको छ ।

१० चेली सम्मानित
गाउँपालिकाले १८ औँ गाउँसभामा १० जना चेलीलाई नगद सहित सम्मान गरेको छ । सम्मानित हुनेमा वडा २ को मुना चेपाङ, वडा ४ को शान्तिमाया मुक्तान, वडा ६ का सावित्री अधिकारी, वडा ९ का संगीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा, वडा १० का फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहेका छन् ।

गाउँपालिकाले नीति तथा कार्यक्रममै राखेर कक्षा १२ उर्तीण गरि २० वर्ष पुरा भई विवाह गर्ने चेलीहरुलाई गाउँसभामा प्रोत्साहन स्वरुप सम्मान गर्ने गरिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए ।

नीति तथा कार्यक्रममा बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य तथा भविष्यमा नकारात्मक असर पर्ने भएकाले यसको न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना पुग्ने हिसाबले नीति तथा कार्यक्रममा समेट्दै चेलीहरुलाई सम्मान गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *