हेटौँडा, ६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित माध्यमिक तह खुला नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएकाे छ।
हेटौँडा एकेडेमी बाल क्लब र हेटौँडा एकेडेमी विद्यार्थी परिषद्को आयोजनामा हेटौँडा एकेडेमी परिसरमा सम्पन्न प्रतियोगितामा नगरका ११ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा जीएस निकेतन माध्यमिक विद्यालय दोस्रो र ब्रह्मदिक एकेडेमी विद्यालय तेस्रो भएका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः नगद ७ हजार ५ सय, ४ हजार ५ सय र ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौँडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गी, विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार पाठक तथा सिविन नेपालका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम हेटौँडा एकेडेमीका विद्यालय कप्तान जोनिस्मा बिडारीको अध्यक्षतामा भएको हो। असोज ९ गते आयोजन गर्ने भनिएको प्रतियोगिता प्रतिकुल मौसमका कारण स्थगित भइ आज प्रतियोगिता आयोजना गरिएको आयोजक बालक्लवका अध्यक्ष रोज कार्कीले जानकारी दिए ।







