हेटौंडा/थाहा नगरपालिकाका किसानहरुले बिहीबार थाहा नगरपालिकाको कार्यालय घेराउ गर्ने भएका छन् ।
किसानले आवश्यक मल नपाउँदा पीडामा परेको भन्दै नगरपालिकालाई दबाब दिने उद्देश्यसहित किसान हकहित संघर्ष समितिले विहीबार बिहान ११ बजे थाहा नगरको कार्यालय घेराउ गर्ने भएको हो ।
थाहानगरलाई पकेट क्षेत्र घोषणा गर्नुपर्ने, तरकारी उत्पादनको लागि पर्याप्त मात्रामा मलको व्यवस्था गर्नुपर्ने, कृषि पर्यटनको शहर कागजमा होइन व्यवहारमा लागू गर्नुपर्नेलगायतको माग राखी नगरपालिका घेराउ गर्ने तय भएको छ । किसान हकहित संघर्ष समितिका सदस्य लक्ष्मण बर्तौलाले कार्यक्रम सांकेतिक रूपमा शान्तिपूर्ण गरिने तथा त्यसबाट ठोस निष्कर्ष ननिस्केमा आन्दोलनलाई क्रमबद्ध अघि बढाउँदै जाने बताए ।







