हेटौंडा, नवसर्जक साहित्य चौतारी नेपालको तेस्रो वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । भर्चुअल प्रविधिबाट वार्षिकोत्सवको आयोजना भएको थियो ।

२०७७ पुस १ गते नामकरण गरेर पहिलो कार्यसमिति चयन गरेको दिनको अवसरमा तेस्रो वार्षिकोत्सव आज सम्पन्न गरिएको संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमले जानकारी दिए । कार्यक्रममा संस्थाका महासचिव समर्पण न्यौपानेले तीन वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने चौतारीका वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाकी अध्यक्ष प्रसन्ना चौलागाईँ, उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश संयोजक जोशिका कँडेल ‘निशा’, उपाध्यक्ष एवम् गण्डकी प्रदेश संयोजक कृतिका लामिछाने, महासचिव समर्पण न्यौपाने, नवसर्जक अनुसुया खनाल लगायतले रचना वाचन गरेका थिए ।
संस्थाकी अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता तथा प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रा. डा. ध्रुवकुमार घिमिरे, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, अग्रज साहित्यकार प्रभा भट्टराईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकारहरू रमेशमोहन अधिकारी, डिबी बर्तौला, ओमकुमारी बन्जारा ‘रानाभाट’, अर्चना दाहाल, जयन्ती आचार्य लगायतको उपस्थिति रहेको थियो । चौतारीले आवधिक रूपमा विविध साहित्यिक विधाको प्रशिक्षण कार्यक्रम, अग्रज स्रष्टाका जन्मजयन्तीविशेष कार्यक्रम, प्रादेशिक बालसाहित्य उत्सवका साथै हरेक महिनाको चौथो शनिबार नवसर्जक मासिक शृङ्खला आयोजना गर्दै आएको संस्थाका महासचिव समर्पण न्यौपानेले बताए।







