हेटौंडा, ३० जेठ/थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको स्मृतिमा यसवर्ष हेटौंडा, पालुङ र काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंने भएको छ । सोमबार रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले रुपचन्द्रको स्मृति दिवस असार ७ गते मकवानपुरको हेटौंडा, विष्टको जन्मथलो पालुङ र काठमाडौंमा मनाउँने निर्णय गरिएको हो । उनको निधन २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएको थियो ।

यसअघि रुपचन्द्रको स्मृति दिवसमा पालुङमा निरन्तर र कहिलेकाही काठमाडौंमा मनाईदै आएको थियो । हेटौंडामा रहेको रुपचन्द्रविष्ट स्मारक समितिको आफ्नै भवनमा बसेको बैठकले बहस, अन्र्तक्रिया तथा सामाजिक काम गरेर असार ७ गते उनको सम्झना मनाउने निर्णय गरेको हो । समितिको भवन हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा रहेको छ ।
समितिका केन्द्रीय अध्यक्ष रामनारायण विडारीको सभाध्यक्षताम भएको बैठकले अन्य निर्णय पनि गरेको छ ।
बैठकले समितिको केन्द्रीय कमिटीको सल्लाहारमा मकवानपुरका हरिबहादुर महतलाई मनोनयन गरेको छ । उनी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । यस्तै केन्द्रीय समितिको सदस्यमा एकराज उप्रेतीलाई मनोनयन गरिएको छ । उनी मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । यस्तै बैठकले हेटौडा र आसपासका पालिकालाई समेट्दै रुपचन्द्र विष्ट स्मारक समिति गठन गरेको छ । जसमा शुक्रराज राजथला, विजय गौतम, कमला पौडेल, सुवास बर्तौला, टिकाप्रसाद दुलाल, बलारम विक, बच्चु उप्रेती, श्यामकृष्ण बर्तौला, यज्ञप्रसाद तिमल्सिना, ललिता श्रेष्ठ, गोपाल सुवेदी रहेका छन् । यस कमिटीको सल्लाहाकारमा प्रकाश पौडेल, रञ्जना श्रेष्ठ, दीलबहादुर अधिकारी चयन भएका छन् । बैठकमा अध्यक्ष रामनारायण विडारी, एकराज उप्रेती, हरिबहादुर महत, लवशेर विष्ट, विजय गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।







