विहीबार हेटौंडामा नेपथ्यको कन्सर्ट

हेटौंडा, १० वर्षको अन्तरालपछि हेटौंडामा नेपथ्य ब्यान्डले आज विहीबार हेटौंडामा कन्सर्ट प्रस्तुत गर्दैछ । बिहीबार हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी स्कुलको प्राङ्गणमा कन्सर्ट हुनेछ । ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत सन् २०१२ मा नेपथ्य ब्यान्डले हेटौंडामा कन्सर्ट गरेको थियो । नेपथ्यको प्राविधिक टोलीले स्टेज निर्माण थालिसकेको र आवश्यक अन्य तयारीलाई पनि भइरहेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

‘अन्य धेरै कार्यक्रमहरू पैसा तिरेर मनोरञ्जन मात्रै लिने भए पनि यसपटक मानवीय सेवा गर्न पाउने अवसर जुरेको छ । कार्यक्रममा सहभागी भइदिन म सम्पूर्ण हेटौँडावासीलाई आग्रह गर्छु,’ उनले भने । मानवता प्रवर्द्धनसँगै हेटौँडा– ९ लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण र आश्रित बेसहाराहरूको संरक्षण र पालनपोषणको सहयोगार्थ कार्यक्रम गर्न लागिएको अध्यक्ष अधिकारीले बताए ।

मानवता प्रवर्द्धनका लागि नेपथ्यले नेपालका प्रमुख १० सहरमा कन्सर्ट आयोजना गरिरहेको छ । १६ मंसिरमा विराटनगर र १९ मंसिरमा वीरगन्जमा सम्पन्न भइसकेका छन् ।

मानवसेवा आश्रमको मुख्य कार्यालयमा अहिले मुख्य भवन र लक्ष्मीभवन निर्माण सम्पन्न भए पनि बालबालिका आवास, बालबगैँचा, गाईगोठलगायतका कार्यहरू निर्माणको चरणमा रहेको छ । आश्रमको मुख्य कार्यालयमा १८ बालक, तीन बालिका, ९४ पुरुष र ७७ जना महिला गरी एक सय ९२ व्यक्ति आश्रित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button