हेटौंडा, किराँत समुदायले आज बिहीबार उधौली पर्व मनाउँदै छन् । खेतबारीमा उब्जाएको अन्नवाली इष्टदेवलाई चढाएर खुशीयालीपूर्वक यो पर्व मनाउने परम्परा रहीआएको छ ।
हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली पर्व तथा नेवारी समुदायले पनि योमरी पूर्णिमा मनाउने भएकाले सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ । प्रकृतिपूजक मानिने आदिवासी किराँत समुदायले हर्षाेल्लासका साथ उधौली पर्व मनाउँदैछन् । आदिवासी किराँत समुदायले हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा उधौली पर्व मनाउने गर्दछन् ।
यो पर्वमा पाकेका अन्नबाली आफ्ना देवीदेवतालाई चढाएर न्वागी पुजा गर्ने प्रचलन रहेको छ । आदिवासी किराँत समुदायभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा लगायतका जातिले आ–आफ्नै संस्कार अनुसार यो पर्व मनाउने गर्दछन् । उधौलीको दिन बिहानै प्रकृतिको पूजा गर्ने गरिन्छ । किराँत समुदायमा अन्नबाली लगाउने समय वैशाख पूर्णिमाको बेला उभौली मनाउने प्रचलन छ ।







