हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै काठमाण्डौमा हुने म्याराथन प्रतियोगितामा सहभागि हुने खेलाडीहरूलाई बिदाई गरिएको छ । असोज १२ गते काठमाण्डौमा हुँने १६ औं एनआरएस स्पोर्ट्स फाउण्डेसनको आयोजनामा हुने राष्ट्रिय म्याराथन सहभागि हुने २० जना खेलाडीहरूलाई हेटौँडा उपमहानगरपालिकाले बिदाई गरेको हो ।
बिहीवार कार्यालयमा आयोजित बिदाई कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले खादा लगाउँदै बिजयी हुन शुभकामना दिएका थिए । उपमहानगरका बिभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्यबाट २० जनलाई प्रतियोगितामा प्रतिष्पर्धा गर्नका लागि छनौट गरेको एथ्लेटिक्स संघ मकवानपुरका सचिव राजाराम पोखरेलले जानकारी दिए । बिभिन्न विद्यालयमा अध्यापन गर्ने ४५ विद्यार्थी मध्य छनौटमा परेकालाई हेटौडामा तिन महिना क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपश्चात् प्रतियोगितामा सहभागि हुनका लागि पठाउन लागिएको हो ।
प्रतियोगितामा सहभागि हुने खेलाडीले हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्ने छन् । बिदाई कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, नगर खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, सदस्य विजय गौतमको उपस्थिति रहेको थियो । हेटौडाबाट प्रतियोगितामा सहभागिता जनाउनका लागि गएका खेलाडीहरूले ३ किलोमिटर र ५ किलोमिटर दौडमा प्रतिष्पर्धा गर्ने छन् । सहभागि हुने खेलाडीहरू हेटौंडाका बिभिन्न विद्यालयमा अध्ययनरत रहेका छन् ।







