नेपथ्यसँगै झुम्यो मकवानपुर

हेटौंडा, २२ मंसिर/नेपालकै चर्चित ब्याण्ड नेपथ्यको गीतमा मकवानपुर झुमेको छ । मानवसेवा आश्रमको भवन निर्माण एवम् अक्षयकोष स्थापनाका लागि बिहीबार हेटौंडाको भूटनदेवी माविको खेल मैदानमा नेपथ्यको कन्सर्ट भएको हो । कन्सर्टमा सहभागी भएकाहरुले अमृत गुरुङको गीतमा झुमेर नाचेका छन् । गुरुङले करिब डेढ दर्जन आफ्ना चर्चित गीतहरु मकवानपुरे दर्शक स्रोताको माझ गाएका थिए ।

ADVERTISEMENT

साँझको ठीक ६ बजे आँगनैभरी.. बोलको गीतबाट आफ्नो प्रश्तुती सुरु गरेका उनले भेडाको उन जस्तो…., छेक्यो छेक्यो देउराली डाँडा…, लामपाते सुरती…, जोमसोमै बजारमा…लगायतका गीत सुनाएका थिए । उनको प्रश्तुतीमा सुरुवातदेखि नै गाउँदै, नाँच्दै, ताली बजाएर साथ दिएका सहभागीहरु जोगले हुन्छ भेट….गीत पछि भने धुलो उड्ने गरी नाचेका थिए । त्यसपछि नेपथ्यले मै नाँचे छमछम्ती,…, रेशम…, तालको पानी… लगायतका ‘डान्सिङ’ गीत प्रश्तुत गरेको थियो । २ घण्टाको प्रश्तुती उनले राष्ट्रिय भावनाले ओतप्रोत रातो र चन्द्र सूर्य… बोलको गीतसंगै टुङ्ग्याएका थिए । यसअघि कोभिड १९ (कोरोना भाइरस) महामारी लगायतका कारणले मकवानपुरमा मेला महोत्सव तथा सांगीतिक कार्यक्रम भएका थिएनन् । मानवसेवा आश्रमले आयोजना गरेको कन्सर्टमा उल्लेख्य सहभागिता रहेको थियो ।

मानवसेवा आश्रमले नेपालको ७ प्रदेशको १९ जिल्लाबाट सेवा दिँदे आएको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको केन्द्रीय कार्यालय समेत रहेको हेटौंडाबाटै मानवता अभियानको सुरु गरेकोले सामाजिक कार्यका लागि हेटौंडामा नेपथ्यको कन्सर्ट आयोजना गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा करिब ३ हजार दर्शक सहभागी भएको अनुमान गरिएको छ । मानवता प्रवद्र्धनसँगै हेटौंडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण र आश्रित बेसहाराहरुको संरक्षण र पालनपोषणको सहयोगार्थ कार्यक्रम गरिएको हो ।

मानवता प्रवद्र्धनका लागि नेपालको प्रमुख १० शहरमा आयोजना हुँदै गरेको कन्सर्ट अन्तर्गत हेटौंडाको तेस्रो कार्यक्रम हो । यसअघि १६ गते विराटनगर र १९ गते वीरगञ्जमा कार्यक्रम भएको थियो । मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा अहिले मुख्य भवन र लक्ष्मी भवन निर्माण सम्पन्न भएपनि बालवालिका आवास, बालबगैँचा, गाइगोठ लगायतका कार्यहरु निर्माणको चरणमा रहेको छ । आश्रमको मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरु आश्रित छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *