हेटौंडा, हेटौंडा उपमहानगरपालिका कार्यक्षेत्र भएर सञ्चालनमा रहेका १ सय २१ वटा सहकारी संस्थाले साधारणसभा सम्पन्न गरी हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखामा प्रतिवेदन बुझाएका छन् । ‘हेटौंडा उपमहानगरपालिकामा २ सय २२ वटा सहकारी संस्था रहेका छन् ।’ हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले भने –‘साधारणसभा सम्पन्न गरी १ सय २१ वटा सहकारीले प्रतिवेदन बुझाई सकेका छन् । अन्य ५० वटा सहकारीले साधारणसभा सम्पन्न गरी रिपोर्ट ल्याउने तयारीमा रहेका छन् ।’

‘सहकारीलाई रिपोर्ट बुझाउनको लागि पत्राचार गरिसकेका छौँ भने साधारणसभा सम्पन्न नगर्ने सहकारीलाई तुरुन्त साधारणसभा गर्न निर्देशन जारी गरिसकेका छौँ ’–उनले भने । साधारणसभा सम्पन्न गरेपछि हेटौंडा उपमहानगरपालिकालाई प्रतिवेदन बुझाउनु पर्छ भनेर महाशाखाले पटक पटक टेलिफोन, पत्राचार गरी जानकारी गराउँदा पनि प्रतिवेदन नबुझाउनु सहकारीको लापरवाही रहेको पौडेल बताउँछन् । गतवर्ष १ सय ५१ वटा सहकारी संस्थाले साधारणसभा सम्पन्न गरेको थिए ।
उनका अनुसार यसवर्ष हेटौंडा उपमहानगरपालिकामा आबद्ध २ सय २२ वटा सहकारी संस्था मध्ये २ सय वटा सहकारीले साधारणसभा सम्पन्न गर्ने छ । ‘हेटौंडाका २०–२२ वटा सहकारीलाई साधारणसभा सम्पन्न गर्न ताकेता लगाउनु पर्छ । अहिले पनि ५÷६ वटा सहकारी संस्थाहरु झोलामै छन् ।’ उनले भने –‘झोलामा रहेका सहकारी संस्थालाई के गर्ने भनेर नीतिगत रुपबाट अगाडी बढिसकेका छौँ । कि त उनीहरुलाई खारेजी गर्ने कि त सहकारीको दायित्व नगरपालिकामा ल्याउने गरी प्रकृया अगाडि बढाएका छौँ ।’
पुस मसान्तभित्र सहकारीले साधारणसभा सम्पन्न गरी माघ १५ गतेभित्र सहकारीको प्रतिवेदन नियमनकारी निकायमा बुझाउनुपर्ने छ ।






