जिल्लास्तरीय तेक्वान्दो पुस १ बाट

हेटौडा,मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा यही पुस १ गतेबाट १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । दुईदिनसम्म चल्ने प्रतियोगितामा मकवानपुरको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको गरी १५ वटा डोजाङले सहभागिता जनाउने बताइएको छ ।

ADVERTISEMENT

तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यका अनुसार तेक्वान्दो प्रतियोगिता नभएको केही बर्षपछि खेल आयोजना हुन लागेको हो । ‘प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश भएकोले गर्दा जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागेका हौं’, बज्राचार्यले भने, ‘दुईदिन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।’ ‘हेटौंडा उपमहानगरपालिकामा रहेका खेलाडीहरुको तौल विहीबार र नगरभन्दा बाहिरका खेलाडीहरुको तौल शुक्रबार विहान लिएपश्चात प्रतियोगितामा सहभागी गराइने उनले बताए । पुरुषतर्फ विभिन्न विधाको ११ वटा तौल समूह र महिलातर्फ विभिन्न विधाको १० वटा तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ ५ केजीको फरकमा ६३ केजीसम्म र महिलातर्फ ५ केजीको अन्तरमा ५२ केजीसम्मका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा १६ जना निर्णायक रहने छन् । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिले नै खर्च गर्ने गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका लागि करिब २ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ र ५ हजार रुपैयाँको सामग्री प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार समितिका अध्यक्ष बज्राचार्यले आफ्नो व्यक्तिगत खर्चमा दिन लागेका हुन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई निरुकुमारी मगर र बिमल विकले शिल्ड प्रदान गर्नेछन् । जिल्ला खेलकुद विकास समिति मकवानपुरले उत्कृष्ट हुने टिमलाई शिल्ड प्रदान गर्ने छ । खेलाडीको लागि निःशुल्क खाना र बासको पनि व्यवस्था गरिएको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *