हेटौंडा, बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नयाँ नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। बुधबार अपराह्न सम्पन्न मतदानमा उनले वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै विजयी हासिल गरेका हुन्। बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भएका छन्। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। कुल ३७ जना कांग्रेस प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए।
यसअघि पनि बानियाँ र लामाबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको थियो। त्यसबेला लामा २१ मत ल्याएर विजयी भएका थिए भने बानियाँ १६ मतमा सीमित रहँदै पराजित भएका थिए। तर, यसपटक बानियाँले मतको अन्तर उल्ट्याउँदै स्पष्ट बहुमतसहित जित हात पारेका छन्।
संसदीय दलको नेतामा निर्वाचित भएसँगै बुधबार हेटौँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बानियाँले अब बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने धारणा राखे। उनले संसदीय दलको नेता नरहेका लामालाई अब मुख्यमन्त्रीबाट सहजरुपमा बिदाइ गरिने बताए ।







