नवोदय विद्यालयमा मनाइयो ‘पाइ डे’

हेटौंडा, हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले विगत वर्षहरूझैं यस वर्ष पनि ‘पाइ डे’ मनाएको छ । गणित विषय विभागको संयोजनमा आयोजित कार्यक्रममा कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूले गणितसँग सम्बन्धित ४८ वटा स्टलमार्फत विभिन्न सिर्जनात्मक गतिविधिहरू प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

विद्यार्थीहरूलाई व्यवहारिक सीप सिकाउने, सिकाइलाई रमाइलो बनाउने र दीर्घकालीन रुपमा उपयोगी बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको विद्यालयका गणित विषय सुपरिवेक्षक हर्कबहादुर कार्कीले जानकारी दिए ।

कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूले पाइसँग सम्बन्धित विविध गतिविधिहरूमा क्रियाकलाप गरेका थिए । कक्षा ६ का ११० जना विद्यार्थीहरूले ९ वटा स्टलमार्फत नाफा र नोक्सान सम्बन्धी अवधारणामा आधारित अभ्यास प्रस्तुत गरेका थिए । उनीहरूले विभिन्न वस्तुहरू खरीद गरी त्यसमा लाग्ने खर्चहरूको हिसाब राख्दै मःम, लस्सी, चिया, कफी जस्ता परिकारहरू तयार पारेर बिक्री गरेर अन्त्यमा कति नाफा वा नोक्सान भयो भन्ने विश्लेषण प्रस्तुत गरेका थिए ।

यसैगरी, कक्षा ७ का विद्यार्थीहरूले विभिन्न वृत्ताकार वस्तुहरू संकलन गरी ती वस्तुहरूको परिधि र व्यास मापन गरेर परिधिलाई व्यासले भाग गर्दा पाइको मान कसरी प्राप्त हुन्छ भन्ने व्यवहारिक ज्ञान हासिल गरेका थिए ।

कक्षा ८ का विद्यार्थीहरूलाई लक्षित गरी गणित हाजिरजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिता अन्य हाजिरजवाफ प्रतियोगिताभन्दा फरक रहेको सुपरिवेक्षक कार्कीले बताए । प्रतियोगितामा मूर्त, अर्धमूर्त र अमूर्त वस्तुसम्बन्धी प्रश्नहरू समावेश गरिएका थिए र विद्यार्थीहरूले एक घण्टासम्म समूहमा कार्य गर्ने अवसर पाएका थिए ।

Advertisement 5

कार्यक्रमको अन्तिम खण्डमा कक्षा ९ का विद्यार्थीहरूले विद्यालयको ‘नवोदय इनोभेसन सेन्टर’ भवनका ६ वटा कोठाहरूको लम्बाइ, चौडाइ र उचाइ मापन गरी ती कोठाहरूको मोडल निर्माण गरी प्रस्तुत गरेका थिए ।

गणित विषय विभागले आगामी असोज महिनामा ‘म्याथ क्याम्पफायर’ आयोजना गर्ने घोषणा गरेको छ, जसमा अन्य विद्यालयहरूलाई समेत पत्राचार गरी सहभागी गराउने लक्ष्य रहेको सुपरिवेक्षक कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *