हेटौंडा, राष्ट्रिय फुटबल टोली तथा चर्च ब्वाइज युनाइटेड क्लबका फरवार्ड अन्जन विष्टको व्यवसायिक खेल जीवनमा नयाँ मोड आएको छ । भारतीय (आई लिग) खेल्न उनी शनिबार त्यसतर्फ गएका छन् ।
अन्जनले मुम्बई केन्क्रे एफसीबाट आइ लिग खेल्ने हाम्रो खेलकुदलाई जानकारी दिए । उनी पहिलो पटक देश बाहिर व्यवसायिक फुटबल खेल्नका लागि गएका हुन् । राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहेका अन्जनले आइ लिग खेल्न अवसरलाई आफूलाई थप प्रमाणित गर्ने अवसरको रुपमा लिएको बताएका छन् ।
‘व्यवसायिक खेल जीवनमा यसलाई अर्को महत्वपूर्ण उपलब्धीको रुपमा लिएको छु,’ उनले भने,‘ मैले राम्रो गर्न सके भने पक्कै पनि अरु खेलाडीहरु प्रति पनि अन्यहरु सकारात्मक बन्न सक्छन् । म आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयास गर्नेछु ।’ उनी घरेलु फुटबलको सर्वाधिक सफल टोलीमध्येको एक मनाङ मस्र्याङ्दी क्लब छाडेर यसै सिजन चर्च ब्वाइजमा आबद्ध भएका थिए । चर्च ब्वाइजले सहजै रिलिज दिएको बताए ।
आइ लिगका बाँकी खेल सकेर फर्कने योजना रहेको अन्जनले बताए । ‘सहिद स्मारक ए डिभिजन लिगको एक दुई राउन्ड छुट्न सक्छ । आइ लिग सकिने वित्तिकै फर्कने योजनामा छु,’ उनले थपे,‘ म व्यक्तिगत पहलमै आइ लिग क्लबसँग जोडिएको हु ।’ राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट आइ लिग खेलिरहेका छन् । अब आइ लिगमा किरण र अन्जनको सामना हुने सम्भावना रहन्छ ।
केन्क्रेले सोमबार आइ लिग अंकतालिका को शीर्ष टोली श्रीनिदी डेकेनसँग प्रतिस्पर्धा गर्नेछ । डेकेनले अघिल्लो खेलमा पन्जाबलाई ४–० ले हराएको थियो । २५ अंकसहित डेकन शीर्षस्थानमा, २३ अंक जोडेको पन्जाब दोस्रो स्थानमा र केन्क्रे १६ अंकसहित नवौं स्थानमा छ । आइ लिगमा १२ टोलीको सहभागिता रहेको छ ।
आफ्नो पुस्तामा आइ लिग खेल्ने अन्जन तेस्रो खेलाडी बनेका छन् । विमल घर्तीमगर केहि वर्षअघि र गत वर्ष अनन्त तामाङले आइ लिग खेलेको थिए । अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् । उनले पछिल्ला दुई मैत्रीपूर्ण खेलमा ४ गोल गरेका थिए ।
दशरथ रंगशालामा कात्तिक ३० गते पाकिस्तानविरुद्धको १–० को जितमा गोल गरेका अन्जनले त्यसअघि बंगलादेशलाई ३–१ ले हराउँदा ह्याट्रिक गरेका थिए । नेपालका लागि ह्याट्रिक गर्ने उनी छैटौं खेलाडी हुन् । पुरुष फुटबल टोलीबा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा उनी दोस्रो नम्बरमा छ । हरि खड्का र निराजन रायमाझी समान १३ गोलका साथ शीर्षस्थानमा रहेका छन् । अनिल गुरुङ र भरत खवासको नाममा समान १० गोल छ ।







