हेटौंडा, यहि मंसिर १४ गतेबाट आयोजना हुने चौथो थाहा महोत्सवको लागि महोत्सव स्थलमा रहेको थाहा नगरपालिका भित्र रहेको मुख्य शक्तिपिठ इन्द्रायणी माइको मन्दिरमा क्षमा पुजा गरिएको छ।
मुख्य आयोजक रहेको थाहा नगर उद्योग वाणिज्य संघले शनिबार ईन्द्रायणी माइको थानमा बिधिपुर्वक क्षमा पुजा गरेको हो। पुजा कार्यक्रममा थाहा नगरका प्रमुख बिष्णु बिष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु, इन्द्रायणी– भगवती –कालाभैरव गूठी संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, सचिव मधुकरविक्रम श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो।
क्षमा पुजा पश्चात् महोत्सवको लागि चौरमा स्टल निर्माण गर्न बाटो खुलेको महोत्सव आयोजक मुल समितिका अध्यक्ष पुरुषोत्तम ढकालले बताए। अब छिटो स्टल निर्माणको काम थालनी हुने उनले जानकारी दिए।
थाहा नगरपालिकामा इन्द्रायणी माइलाइ शक्तिशाली शक्तीपिठको रुपमा पुज्ने परम्परा छ। इन्द्रायणी चौरमा मन्दिरलाई छेकिनेगरी कुनै कार्य गर्दा इन्द्रायणी माइको क्षमा पुजा गर्ने चलन रहिआएको छ।







